काठमाण्डौ । स्ट्रेट अफ हर्मुज क्षेत्रमा इरानी सुरक्षा निकायको नियन्त्रणमा परेका नेपाली युवा तथा जहाज क्याप्टेन अमृत झा बुधबार रिहा भएका छन्। नेपाल सरकारका अनुसार, उनको रिहाइ कूटनीतिक पहल र निरन्तर समन्वयको परिणाम हो।
परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको औपचारिक पुष्टि भएको जानकारी दिएका छन्। उनका अनुसार, इरानस्थित नेपाली कन्सुलरमार्फत प्राप्त विवरणअनुसार झा हाल इरानको केश्म टापुमा सुरक्षित अवस्थामा रहेका छन् र उनीसँग नियमित सम्पर्क भइरहेको छ।
झालाई इरानको बन्दर अब्बास बन्दरगाह नजिकै, होर्मुज स्ट्रेट क्षेत्रमा इरानी रेभुल्युसनरी गार्डले नियन्त्रणमा लिएको थियो। उक्त समय उनी तेल बोकेर फर्किने क्रममा थिए। झा कार्यरत रहेको जहाज ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ।

