काठमाण्डौ । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। उक्त सेयर निष्कासन तथा बिक्री व्यवस्थापनसँगै संस्थागत परामर्श सेवा प्रदान गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।
यस सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष पवन घिमिरेबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा शेयर रजिष्ट्रार सेवाहरू प्रदान गर्दै आएको छ।
मेची इन्डष्ट्रिज लिमिटेड झापाको दमकस्थित ताराबारीमा महेन्द्र राजमार्गबाट करिब २०० मिटर भित्र आफ्नै स्वामित्वको जग्गामा सञ्चालनमा रहेको उत्पादनमूलक उद्योग हो। कम्पनीले बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट ब्लक उत्पादन गर्दै आएको छ, जुन हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने सामग्री हो।
हाल कम्पनीको वार्षिक उत्पादन क्षमता २१ लाख ६० हजार थान रहेको छ। उच्च चापयुक्त बाफ प्रविधि प्रयोग गरी उत्पादन गरिने यी ब्लकहरू ताप तथा आगो प्रतिरोधी विशेषतायुक्त छन्।

