काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यतर्फ उन्मुख रहेको बताएका छन्। उनले आगामी दुई दिनलाई असाधारण हुने संकेत दिँदै ठूलो कूटनीतिक प्रगति हुन सक्ने दाबी गरेका छन्।
ट्रम्पका अनुसार इरान र अमेरिकाबीच सहमति हुने सम्भावना बलियो छ र उनले युद्ध चाँडै समाप्त हुने अपेक्षा व्यक्त गरेका छन्। उनले भने, ‘मलाई लाग्छ, यो युद्ध अन्त्य नजिक छ। उनीहरू सम्झौता गर्न चाहन्छन्।’
यसैबीच, पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिर इरानको राजधानी तेहरान पुगेका छन्। उनी क्षेत्रीय मध्यस्थकर्ताको भूमिकामा वार्ता अघि बढाउन र अमेरिका तथा इरानबीचको मतभेद घटाउन प्रयास गरिरहेको बताइएको छ।
कूटनीतिक स्रोतहरूका अनुसार पछिल्ला वार्ताहरू असफल भएपछि दुवै पक्ष पुनः पाकिस्तान वा अन्य तटस्थ स्थानमा वार्ता गर्ने सम्भावनाबारे छलफल भइरहेको छ।
वार्ताको मुख्य विवाद इरानको आणविक कार्यक्रम रहेको छ। अमेरिकाले दीर्घकालीन रूपमा आणविक गतिविधि रोक्न प्रस्ताव गरेको छ भने इरानले छोटो अवधिको सीमित रोक लगाउने विकल्प अघि सारेको बताइएको छ।
यसैबीच, मध्यपूर्वमा तनाव कायमै रहेको र तेल ढुवानी मार्गहरू प्रभावित भएको रिपोर्टहरूमा उल्लेख छ। स्ट्रेट अफ हर्मुज वरिपरि सुरक्षा अवस्था संवेदनशील बनेको छ।
युद्धका कारण क्षेत्रीय कूटनीति, ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा अस्थिरता देखिएको छ ।

