काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा "नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण" (Diagnosing the Economic & Industrial Health of Nepal) विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।
यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा ल्याएको थियो। छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउनुभएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो।
छलफलका प्यानलिस्टहरूमा उद्योग, वाणिज्य तथा आपूर्ती लगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पूर्व मन्त्री अनिल कुमार सिन्हा, र पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी हुनुभएको कार्यक्रमको सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन् ।
कार्यक्रममा सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए । "भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ । अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको उर्जाबीचको दुरी मेटाउन मन्च सधैं प्रतिबद्ध छ," उनले भने ।
छलफलका क्रममा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो। प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए।
प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रमको औपचारिक समापन मन्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले गरे । उनले विज्ञहरुको अमूल्य योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

