काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत चितवनको भरतपुरमा केन्द्रीय समिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
९९ जना केन्द्रीय सदस्य पदका लागि करिब ४०० उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता मंगलबार राति सकिए पनि बुधबार दिउँसोसम्म प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गर्न ढिलाइ भएको छ।
उक्त सूची सार्वजनिक भएपछि दाबी–विरोध तथा आवश्यक छानबिन प्रक्रिया सञ्चालन गरिनेछ।
सबै प्रक्रियाहरू पूरा भएपछि अन्तिम नामावली तयार गरी मतदान प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
मतदानका लागि ई–भोटिङ प्रणाली अन्तर्गत रामलक्ष्मण मेसिन प्रयोग गरिने व्यवस्था गरिएको छ।
महाधिवेशन स्थलमा ८० वटा विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएको छ।
निर्वाचनलाई छिटो, सहज र पारदर्शी बनाउन डिजिटल प्रविधिको प्रयोग गरिएको आयोजकले जनाएको छ।
यसबीच महाधिवेशन स्थलमा उम्मेदवारहरूले आन्तरिक प्रचारप्रसार जारी राखेका छन्।
तर, प्रारम्भिक नामावली सार्वजनिक भएपछि मतदान शुरु हुनुअघि अनिवार्य मौन अवधि लागू हुने र त्यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान आजै रातिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यसपछि दोस्रो चरणमा पार्टी पदाधिकारी चयन प्रक्रिया अघि बढाइनेछ।
दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी कुल ६ पदका लागि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।
यसअघि चितवनमै सम्पन्न महाधिवेशन उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गरेका थिए।
सभापति लामिछाने यसअघि नै निर्विरोध रूपमा पुनः चयन भइसकेका छन्।

