काठमाण्डौ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तापक्षभित्रै असन्तुष्टि चुलिएपछि प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन।
सहमति नजुटेपछि बुधबारका लागि तय गरिएको बैठक पनि स्थगित भई बिहीबारसम्म सारिएको छ।
मंगलबारको बैठक शुरु हुनेबित्तिकै सत्ता पक्षका केही सांसदसँगै प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माण प्रक्रिया र विनियोजन शैलीप्रति असन्तुष्टि जनाएका थिए।
त्यसपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेपनि परिस्थिति सहज नबनेपछि बैठक पुनः सञ्चालन हुन सकेन।
यसअघि सोमबार पनि “रातो किताब” (बजेट विवरण) सांसदहरूलाई समयमै उपलब्ध नगराइएको भन्दै बैठक मंगलबारका लागि सारिएको थियो।
तर, मंगलबार पनि विवाद समाधान नहुँदा सदनको कामकाज प्रभावित बनेको हो।
नेकपा (एमाले) की सांसद नरमाया ढकालले बजेट निर्माणमा सांसदहरूको सिफारिस बेवास्ता गरिएको आरोप लगाइन्।
उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरूले आफूअनुकूल योजना राखेर बजेट वितरण गरेपछि संसदीय प्रक्रिया र समानुपातिक विकासको भावना कमजोर भएको छ।
प्रदेश सरकारभित्रै देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न छलफलहरू भएपनि ठोस सहमति जुट्न नसकेको बताइएको छ।
प्रदेश सभा सचिवालयका अनुसार दलहरूबीच समझदारी नबनेसम्म बैठक सञ्चालन गर्न कठिनाइ भएको हो।
बजेट सार्वजनिक भएपछि देखिएको विवादका कारण विकास योजना छनोट, बजेट वितरणको पारदर्शिता र प्राथमिकताका विषयमा प्रश्न उठ्दै आएका छन्, जसले प्रदेश सभाको नियमित कार्यसूची नै प्रभावित बनाएको छ।
अर्को बैठक कहिले बस्ने भन्ने विषय दलहरूबीचको सहमतिपछि मात्र तय हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

