काठमाण्डौ । बुधबार पनि सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५४ प्रतिशत अर्थात १४.४५ अंकले घटेर २ हजार ६६०.०२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४५८.८८ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ३६ करोड २१ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘अहिले बजारमा ठूला लगानीकर्ताहरु सक्रिय छैनन् । साना लगानीकर्ताले मात्रै गरेको कारोबारले बजार चलायमान हुन गाह्रो छ । सरकारको नीति कुनबेला परिवर्तन हुन्छ भन्ने लगानीकर्तामा अन्योलता छ । केही समयसम्म बजार साइडवेजमै चल्न सक्छ । तर घट्दो बजारमा फन्डामेन्टल रुपमा बलिया कम्पनीमा लगानी गर्ने अवसर भने छ । अबको दुई तिन महिनामा राम्रो कम्पनीमा लगानी गर्न सकियो भने राम्रो रिटर्न पाइन सक्छ । तर अहिले ट्रेडरहरु हावी भएका कारण बजारमा अन्योलता सिर्जना भएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिन्छन् ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स र व्यापार समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.१९ र ०.८१ प्रतिशतले बढे ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.१० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४८ प्रतिशत, विकास बैंक ०.५७, होटल ०.६२, हाईड्रो ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, लघुवित्त ०.३८, म्युचुअल फण्ड ०.४४, निर्जीवन बीमा ०.६४ र अन्य समूह १.०२ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २९ करोड ६२ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोपान फर्मास्युटिकल्सको १७ करोड २२ लाख, युनाइटेड मोदी हाईड्रोको ११ करोड ८२ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ११ करोड ४ लाख र साहस उर्जाको ११ करोड बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये तीनवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज टक्सार पिखुवाखोला हाईड्रोपावर, भुजुङ हाईड्रोपावर र याम्बालिङ हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ९.९० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ५.८९ प्रतिशतले बढ्यो ।
यो दिन सोपान फर्मास्युटिकल्सको सेयरमूल्य सर्वाधिक अर्थात ५.०५ प्रतिशतले घट्यो । यस्तै भगवती हाईड्रोपावर डेभलपमेन्टको सेयरमूल्य ३.६६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ३.३६ प्रतिशतले घट्यो ।

