काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराउँदै पुँजी बजारको सुधार, लगानीकर्ताको हित संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।
गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
नियुक्तिपछि उनले औपचारिक रूपमा पदभार सम्हाल्ने प्रक्रिया सोमबार शपथसँगै पूरा गरेका हुन्।
शपथ ग्रहणपछि अर्थमन्त्री डा. वाग्लेले पूँजी बजारप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न निष्पक्ष, पारदर्शी र इमान्दार ढंगले काम गर्नुपर्नेमा जोड दिए।
उनले कुनै पनि प्रकारको दबाब, प्रभाव, लोभ वा प्रलोभनमा नपरी नियामक निकायको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न अध्यक्ष डा. भट्टलाई निर्देशन दिए।
अर्थमन्त्रीले पूँजी बजारमा लगानी गर्ने साना तथा ठूला सबै लगानीकर्ताको हित र लगानीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गर्दै पूँजी परिचालनलाई आर्थिक वृद्धिसँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
उनले भने, कुनै पनि प्रभाव वा प्रलोभनमा नपरी लगानीकर्ताको हितको रक्षा गर्नुहोस्।
सरकारको तर्फबाट आवश्यक सहयोग रहनेछ। पूँजी बजारलाई अर्थतन्त्रको विकाससँग जोड्ने गरी काम गर्नुपर्छ।
वाग्लेले बोर्ड नेतृत्वलाई स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न पनि निर्देशन दिएका छन्।
उनले दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न आग्रह गर्दै सुधारका काम समयसीमाभित्र सम्पन्न गर्नुपर्ने बताए।
उनले पछिल्लो समय बजारमा फैलाइने आधारहीन हल्ला र अफवाहले विशेषगरी साना लगानीकर्तामा अन्योल र त्रास सिर्जना गरेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई प्रभावकारी नियमनमार्फत नियन्त्रण गर्न बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने बताए।
अर्थमन्त्रीले परिणाममुखी काममा जोड दिँदै धेरै भाषणभन्दा कामले नै विश्वास जित्नुपर्ने धारणा राखे।
पुँजी बजार सुधारका कार्यक्रम समयसीमा तोकेर कार्यान्वयन गर्नुहोस्।
लगानीकर्ताको विश्वास बढाउने र नियामकको भूमिका सुदृढ बनाउनेतर्फ केन्द्रित हुनुपर्छ।
मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन। मलाई हरेक हप्ता बजारको प्रगति विवरण चाहिन्छ, उनले भने।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकारले लिएको आर्थिक तथा पूँजी बजार विकाससम्बन्धी नीतिअनुसार आफू पूर्ण इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो अनुभव, ज्ञान र व्यावसायिक दक्षतालाई लगानीकर्ताको हित संरक्षण, बजारको पारदर्शिता तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताए।
उनले विगतमा पुँजी बजार सुधारका लागि भएका विभिन्न अध्ययन, प्रतिवेदन र सिफारिसलाई कार्यान्वयनमा लैजाने तथा बजारलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिस्पर्धी बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

