काठमाण्डौ । राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ औपचारिक रूपमा दर्ता गरिएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ अनुसार उक्त विधेयक सभामा पेस गरेका हुन्।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारका मन्त्रालय, निकाय तथा विभिन्न विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।
यसले संघीय सञ्चित कोषबाट खर्च गर्ने कानूनी आधार सुनिश्चित गर्नेछ।
विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले यसलाई राज्यको वित्तीय व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण कानूनी दस्तावेजका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार यसले सरकारी सेवा प्रवाह, विकास आयोजना तथा प्रशासनिक खर्च सञ्चालनका लागि आवश्यक बजेटीय ढाँचा निर्धारण गर्नेछ।
विधेयक पारित भएपछि संघीय सरकारका सबै निकायलाई तोकिएको बजेट अनुसार खर्च र कार्यक्रम कार्यान्वयन गर्ने कानूनी अधिकार प्राप्त हुनेछ।

