काठमाण्डौ । फ्रान्सका कप्तान किलियन एमबाप्पेले आफूलाई व्यक्तिगत गोल कीर्तिमानभन्दा पनि टोलीलाई फिफा विश्वकपको उपाधि दिलाउने लक्ष्यले बढी प्रेरित गरेको बताएका छन्।
मंगलबार सम्पन्न राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। उक्त खेलमा एमबाप्पेले दुई गोल गर्दै यस संस्करणमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। साथै, विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ, जसले उनलाई लियोनेल मेस्सीको १९ गोलको कीर्तिमानभन्दा एक गोल मात्र पछाडि पुर्याएको छ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमबाप्पेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतालाई प्राथमिकता दिएको स्पष्ट पारे।
उनले भने, ‘हाम्रो लक्ष्य सकेसम्म अगाडि बढ्दै जुलाई १९ मा हुने फाइनलसम्म पुग्नु र उपाधि जित्नु हो। धेरै गोल गर्दा व्यक्तिगत कीर्तिमानमा अघि बढिन्छ, तर मेरो ध्यान त्यसमा होइन। मलाई विश्वास छ कि मेस्सीले पनि थप गोल गर्नेछन्। त्यसैले मेरो सम्पूर्ण ध्यान आगामी प्रतिद्वन्द्वी र फाइनलसम्म पुग्ने यात्रामै केन्द्रित छ।’
अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। पाराग्वेले यसअघि जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।
एमबाप्पेले पाराग्वेविरुद्धको खेललाई सहज रूपमा नलिइने बताउँदै टोलीले अझै केही पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
उनले भने, ‘हामी पाराग्वेविरुद्धको खेलअघि आफ्ना कमजोरी सुधार गर्नेछौं। केही पक्ष अझै स्पष्ट छैनन् र सुधारको पर्याप्त अवसर छ। तर समग्र प्रदर्शन सकारात्मक छ। हाम्रो आक्रामक क्षमता बलियो भएकाले हामी कुनै पनि खेलमा अग्रता लिन सक्षम छौं।’

