काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो एक वर्षमा ५ लाखभन्दा बढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
पर्यटन गतिविधि पुनः लयमा फर्किएसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको हो। आगन्तुकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। त्यसपछि चीन, अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका पर्यटकको उपस्थिति उल्लेख्य देखिएको छ।
अन्नपूर्ण आधार शिविर, घान्द्रुक, पुनहिल, मनाङ र मुस्ताङलगायतका पदमार्ग, हिमाली दृश्य तथा प्राकृतिक सौन्दर्यले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको पर्यटन व्यवसायीहरू बताउँछन्।
पर्यटक आगमन बढेसँगै अन्नपूर्ण क्षेत्रका होटल, रेस्टुरेन्ट, ट्रेकिङ, यातायात तथा अन्य पर्यटनसम्बद्ध व्यवसायमा पनि चहलपहल बढेको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई थप चलायमान बनाएको व्यवसायीहरूको भनाइ छ।

