काठमाण्डौ । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। पार्टी केन्द्रको निर्देशनपछि सरकारमा सहभागी एमालेका ६ मन्त्रीले मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन्।
एमालेले मन्त्रीहरूको राजीनामासँगै प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ। स्वास्थ्य मन्त्री किरण थापा मगरले संसदीय दलसँगको समन्वयमा केहीबेरमै राजीनामा बुझाउने तयारी भइरहेको जानकारी दिए।
सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको थियो। तर, पार्टी केन्द्रबाट नयाँ निर्देशन आएपछि एक दिनमै निर्णय परिवर्तन गरिएको हो।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सुशासन केन्द्र जावलाखेलमा मुख्यमन्त्री बानियाँलाई भेटेर राजीनामा बुझाउने तयारी भएको बताए। उनका अनुसार नयाँ सरकार गठन र आगामी गठबन्धनबारे पार्टी केन्द्रको निर्देशनअनुसार थप कदम चालिनेछ।
मुख्यमन्त्री बानियाँले पनि एमालेका मन्त्रीहरूले राजीनामा दिने जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। राजीनामा बुझ्न उनी प्रदेश सुशासन केन्द्र जावलाखेल जाने तयारीमा छन्।
बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ मन्त्री छन्।
मन्त्रालय पुनर्संरचनापछि डा. देवकोटाले भौतिक पूर्वाधार विकास, पौडेलले कृषि, पशुपन्छी, वन तथा वातावरण र श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। थापा, मगर र केसी भने विनाविभागीय मन्त्री छन्।
प्रदेश सरकारले साउन १ गतेदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर आठ कायम गरेको थियो। मन्त्रालय पुनर्संरचना र कार्यविभाजन फेरबदल भएको केही दिनमै कांग्रेस–एमाले सत्ता सहकार्य टुट्ने अवस्थामा पुगेको हो।

