काठमाण्डौ । सरकारको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णयपछि सेयरबजारमा लगाइएको ५० प्रतिशत करसमेत पुनरावलोकन गरी हटाउन माग गरिएको छ ।
लगानीकर्ताहरूले यस्तो कर व्यवस्थाले पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने र लगानीकर्ताको मनोबल कमजोर बनाउने बताएका छन् ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले सेयरबजारमा करसम्बन्धी नीतिगत सुधारले लगानीकर्ताको सकारात्मक मनोविज्ञान बलियो बनाउने तर्क व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सेयरबजारमा थपिएको ५० प्रतिशत कर पनि पुनरावलोकन गरी हटाउन माग गरेका छन् ।
‘स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत कर आपत्तिजनक र अव्यवहारिक कदम थियो, त्यसलाई हटाउने सरकारको निर्णय स्वागतयोग्य तथा प्रशंसनीय छ’ उनले भने, ‘त्यसरी नै सेयरबजारमा थपिएको ५० प्रतिशत करसमेत पुनरावलोकन गरी हटाइयोस् ।’
साथै यस्तो व्यवस्था गरिएमा पूँजीबजारको विकास, विस्तार र दीर्घकालीन लगानी प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने फुल्लेलले बताए ।

