काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)की निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको हो।
मन्त्री चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षा सुदृढीकरण र अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताइन्।
भेटमा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन र भौगोलिक सङ्केतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था सुदृढ बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।
एफएओको दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशकसमेत रहेकी याङले नेपाललाई प्राथमिकतामा राखेर सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम र एफएओको रोमस्थित मुख्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा पनि दिइन्।
दुवै पक्षले नेपाल सरकार र एफएओबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै दिगो, उत्थानशील र समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारी सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

