काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि नेपालका तयारी पोसाक उद्योगीहरूले उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारबाट सकारात्मक पहल हुने अपेक्षा गरेका छन्।
नेपाल तयारी पोसाक उद्योग सङ्घका प्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री शाहसँग भेट गरी उद्योगको अवस्था, समस्या, उत्पादन विस्तार र निर्यात प्रवर्द्धनका विषयमा छलफल गरेका हुन्।
सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीको निजी क्षेत्रमैत्री धारणा र उत्पादनमुखी अर्थतन्त्रमा दिएको जोडबाट उद्योगी उत्साहित भएको बताए।
उनका अनुसार नेपालबाट निर्यात हुने वस्तुमध्ये गलैँचापछि तयारी पोसाक दोस्रो स्थानमा छ। यस क्षेत्रबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भइरहेको उनले जानकारी दिए।
छलफलका क्रममा प्रधानमन्त्री शाहले जनशक्ति विदेश पठाएर मात्र मुलुक समृद्ध नहुने भन्दै स्वदेशमै उत्पादन बढाएर वस्तु निर्यात गर्नुपर्नेमा जोड दिएका थिए।
“मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको वस्तु निर्यात गरेर देश बन्छ भन्ने प्रधानमन्त्रीको धारणा थियो,” अध्यक्ष पाण्डेले भने, “यसबाट हामी निकै उत्साहित भएका छौँ।”
सङ्घले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीको स्वागत गरेको छ। उद्योगलाई पुरानै संरचनामा नभई आधुनिक प्रविधि र प्रतिस्पर्धी उत्पादन प्रणालीअनुसार सञ्चालन गर्नुपर्ने सुझाव आफूहरूले दिएको पाण्डेले बताए।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको पनि सङ्घले जनाएको छ।
सङ्घका महासचिव भीमकुमार गिरीका अनुसार प्रधानमन्त्री शाहले उद्योगीहरूलाई समस्या मात्र नभई समाधान र कार्ययोजनासहित प्रस्तुत हुन आग्रह गरेका थिए।
“समस्यासँगै समाधानको प्रस्ताव र स्पष्ट योजना ल्याउनुस्, त्यसपछि तत्काल काम अगाडि बढाउन सकिन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,” गिरीले भने।
प्रधानमन्त्री शाहले देशका विभिन्न क्षेत्रमा तयारी पोसाक उद्योग विस्तार गर्न सकिने र गाउँघरमा खेर गइरहेका बोटबिरुवाका रेशाबाट समेत कपडा उत्पादनको सम्भावना खोज्नुपर्ने बताएका थिए।
छलफल खुला र सकारात्मक वातावरणमा भएको भन्दै उद्योगीहरूले स्वदेशी उत्पादन, रोजगारी सिर्जना र निर्यात विस्तारका लागि सरकारबाट ठोस पहल हुने विश्वास व्यक्त गरेका छन्।

