काठमाण्डौ । एक महिनाअघि बाँडफाँड भएको सर्वोत्तम पेन्ट्स लिमिटेडको आईपीओ अझै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण हुन सकेको छैन। कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुन नसक्दा लगानीकर्ताले कम्पनीको व्यवस्थापन तथा सुशासनमाथि प्रश्न उठाउन थालेका छन्।
कम्पनीले गत जेठ २८ गतेदेखि सर्वसाधारणका लागि कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८५ हजार कित्ता, कम्पनीका कर्मचारीका लागि १७ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ४२ हजार ५०० कित्ता र सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता सेयर छुट्याइएको थियो।
आईपीओमा आवेदन दिएका कुल ७० हजार ५५० जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए। आईपीओको बाँडफाँड गत असार ११ गते सम्पन्न भएको थियो।
तर, बाँडफाँड भएको एक महिना बितिसक्दा पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण हुन नसकेपछि लगानीकर्ताले कारोबार सुरु हुने मितिबारे चासो र अन्योल व्यक्त गर्न थालेका छन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एवं सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीले आवश्यक कागजात उपलब्ध गराउन ढिलाइ गर्दा सूचीकरण प्रक्रियामा समय लागेको हो।
‘हामीले कम्पनीले उपलब्ध गराएको कागजातका आधारमा नै सूचीकरणका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा फाइल पठाउने हो,’ क्यापिटलकी एक उच्च अधिकारीले भनिन्, ‘केही आवश्यक कागजात पेश हुन ढिलाइ हुँदा प्रक्रिया लम्बिएको थियो। अहिले भने सिडिएससीमा कागजात पठाइसकेका छौं। सम्भवत अबको २–३ दिनभित्र सूचीकरण हुन्छ।’
यता सर्वोत्तम पेन्ट्सले भने आफूले आवश्यक सबै कागजात समयमै उपलब्ध गराएको दाबी गरेको छ। कम्पनीका एक अधिकारीका अनुसार कम्पनीले सूचीकरणका लागि आवश्यक प्रक्रिया पूरा गरे पनि क्यापिटलमार्फत सिडिएससी र नेप्सेमा आवश्यक कागजात पुग्न ढिलाइ हुँदा प्रक्रिया प्रभावित भएको हो।
‘हामीले सकेसम्म छिटो सूचीकरण गर्न पहल गरिरहेका छौं। लगानीकर्ताले दैनिक फोन गरेर जानकारी लिइरहनुभएको छ,’ कम्पनीका ती अधिकारीले भने, ‘कम्पनीले आवश्यक सबै कागजात पेश गरिसकेको छ। अब कागजातसम्बन्धी प्रक्रिया पूरा भएको जानकारी आएको छ र २–३ दिनभित्र सेयर सूचीकरण हुने अपेक्षा छ।’
यससँगै आईपीओ प्राप्त गरेका लगानीकर्ता भने कम्पनीको सेयर कारोबार सुरु हुने मितिको प्रतीक्षामा रहेका छन्।

