काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था पालना गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ अनुसार यस्तो निर्देशन दिएको हो ।
सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको छ । यसर्थ सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ/महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्न/गराउन निर्देशन दिइएको छ ।