काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको छ ।
कम्पनीले यो अवधिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७९८.९१ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२८.२च्४ प्रतिशतले बढी हो ।
यस्तै, कम्पनीले यो अवधिमा ३४ करोड ८७ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले २३ करोड ५९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्चमा नियन्त्रण गरेको छ । कम्पनीको कुल खर्च ४९.७० प्रतिशतले घट्दै १० करोड ९८ लाख रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ९० करोड र कुल चालु दायित्व ८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११९.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.०९ गुणा र तरलता अनुपात २१.४६ प्रतिशत कायम भएको छ ।