काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय धमाधम पाइपलाइनमा रहेका कम्पनीहरुलाई धितोपत्र निष्कासनको लागि अनुमति दिन थालेको छ ।
चौतर्फी आलोचनापछि बोर्डले कम्पनीहरुको अध्ययन गरेर आइपीओ निष्कासको अनुमति दिन थालेको छ । बोर्डले आइपीओ निष्कासन अनुमति दिने कार्यलाई प्राथमिकतामा राखेर काम तीव्र रुपमा अगाडी बढाइरहेको जनाएको छ ।
अझैपनि आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डको पाइपलाइनमा ७६ कम्पनी छन् । विभिन्न सेक्टरका ७६ कम्पनीले ५२ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेका छन् ।
जसमा सबैभन्दा हाइड्रो सेक्टरबाट रहेका छन् । हाइड्रो सेक्टरबाट मात्रै ३७ कम्पनीले कुल १८ अर्ब २८ करोड ६५ लाख रुपैयाँ बराबरको १७ करोड ८७ लाख ९२ हजरा ४८५ कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूहतर्फबाट १६ कम्पनीले २४ अर्ब ६२ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको ११ करोड १४ लाख ७२ हजार १३२ कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।
यसका साथै माइक्रोफाइनान्स सेक्टरबाट ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता, माइक्रो इन्स्योरेन्स सेक्टरबाट ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता र अन्य समूहतर्फबाट कुल ३ अर्ब ४२ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको २ करोड ७४ लाख ९० हजार ५२९ कित्ताका लागि आवेदन दिएका छन् ।
त्यस्तै, लगानी सेक्टरबाट २ अर्ब ९३ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ५० हजार ३७५ कित्ता, होटल तथा पर्यटन समूहतर्फबाट २ अर्ब ३० करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ५३ लाख २० हजार कित्ता र विकास बैंक सेक्टरबाट १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति माग भएको छ।