काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणको तयारी थालेको छ ।
केन्द्रीय बैंकले सरोकारवालाहरुबाट सुझावहरु संकलन गर्ने लगायतका आन्तरिक तयारीहरु सुरु गरेको हो ।
पूर्वतयारी स्वरुप राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सर्वसाधारणहरुबाट समेत सुझावहरु मागेको छ ।
बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय सुझाव भए उपलब्ध गराइदिन आग्रह गरेको छ । विभागले त्यस्ता राय सुझाव आगामी असार १० गतेभित्र इमेल ठेगानामा उपलब्ध गराइदिन भनेको छ ।
राष्ट्रबैंकले प्रत्येक वर्षको मौद्रिक नीति निर्माण गर्दा सर्वसाधारणहरुबाट समेत सुझावहरु माग्ने गरेको छ । त्यसबाहेक केही खास सरोकारवालाहरुसँग उसले छलफल कार्यक्रमहरु समेत राख्ने गरेको छ । कतिपयले भने मौद्रिक नीति केन्द्रीत छलफल आयोजना गरी त्यहाँ आएका सुझावहरु एकीकृत गरी केन्द्रीय बैंकलाई बुझाउने गरेका छन् ।
विभिन्न माध्यमबाट सुझावहरु मगाउने र पठाउने विषय कर्मकाण्डीजस्तो मात्र भएको र त्यसरी गएका सुझावहरु कार्यान्वयनमा नआउने गरेको सर्वसाधारण तथा लगानीकर्ताहरुले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।