काठमाण्डौ । लघुबीमा कम्पनी लघुबीमा कम्पनीहरुले झण्डै दुई अर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ७ लघुबीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यो बीमाशुल्क रकम गत आवको तुलनामा ४२३.७३ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा लघुबीमा कम्पनीहरुले जम्मा ३७ करोड १९ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।
लघुबीमा कम्पनीहरुले पछिल्लो एक वर्षयता आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।
सो अवधिसम्म लघु जीवन बीमा कम्पनीहरुले मात्रै १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम गत आवको तुलनामा ७२७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघु जीवन बीमकहरुले १३ करोड २७ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म गार्डियन माइक्रो लाइफले ४१ करोड ३६ लाख, क्रेष्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख र लिवर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । तीन लघु जीवन बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ दोस्रो बजारमा सूचीकृत छन् ।
त्यस्तै, यता लघु निर्जीवन बीमातर्फ कम्पनीहरुले ८४ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन यो गत आवको तुलनामा २५५.३० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघु निर्जीवन बीमकहरुले २३ करोड ९१ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।
११ महिनासम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले २३ करोड ७९ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ करोड १० लाख, स्टार माइक्रो इन्स्योरेन्सले २० करोड १७ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीहरुमध्ये सेयरबजारमा नेपाल माइक्रो इन्स्योरेन्स मात्रै सूचीकृत रहेको छ ।