काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई पस्किएका छौं । यस क्रममा आज हामी राजधानीका विभिन्न ब्रोकरआउस पुगेका थियौं । हामीले आज त्रिपुरेश्वर , सुन्धारा तथा न्यूरोड क्षेत्रका ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताको मनोभाव तथा विचारलाई स्थान दिएका छौं । आज असार १५ दिनभर राजधानीमा वर्षा भएको थियो भने ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि सामान्य देखिन्थ्यो । ब्रोकरहाउसमा पनि असार १५ , मौद्रिक नीति र गभर्नरको विषयमै बढी चर्चा सुनिन्थ्यो ।
सबै भन्दा पहिले हामी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुगेमा थियौं । आज बिहानैदेखि बजारमा सुधार देखिएको थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यसै सिलसिलामा एक लगानीकर्ताले भने, ‘लौ साहस उर्जा चल्न थाल्यो । अब खेलाडीहरु बुटवल पावर बेचेर यता लागे जस्तो देखिन्छ ।’ उनले थप्दै भने, ‘आज पनि हाईड्रो नै चल्छ जस्तो छ । २ अर्बको कारोबारमा धेरै जस्तो हाइड्रो कै छै । आज कारोबारको पहिलो प्रहरदेखि नै बजार बढ्न थालेको थियो । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।
हामी यहाँबाट सुन्धारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । लगानीकर्ताहरु बजारको विषयमा नै चर्चा गर्दै थिए । यतिकैमा एक लगानीकर्ताले भने ‘जे छ अब गभर्नरकै हातमा छ । हामीलाई पनि बजारमा सुधार आउनका लागि गभर्नरकै आश छ ।’ उनीसँगै बसेका एक लगानीकर्ताले हाँस्दै भने, ‘हाम्रो त के सेयर छ र ? गभर्नरकै रहेछ हाम्रो भन्दा पनि ।’ उनले ठट्यौलि पारामा भने ।
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आशाबादी हुँदै भने, ‘अहिलेको क्याप हटाउने र संँस्थालाई सेयर किन्न दिने हो भने त बजार रिर्टनले जस्टिफाइ हुने गरि बढ्ने थियो । लगानीकर्ताहरुको पनि कमजोरी छ, फण्डामेन्टल भन्दा पनि फण्डा मात्रै खोज्छन् । फेक बायरलाई हटाउन धितोपत्र बोर्डले पनि केही गर्न सकेको छैन ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । यहाँबाट हामी न्यूरोडमा रहेको जे एफ सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । बजार बिस्तारै उकालो लाग्दै थियो । संधै २ बजेपछि बिक्री दबाब आउने बजारमा आज भने केही फरक माहोल देखिन्थ्यो । यतिकैमा एक लगानीकर्ताले सोधे, ‘होइन बजारमा असारको प्रेसर सकिए छ कि कसो हो ?’ उनले थप्दै भने, ‘मेरा केही साथीहरुले त पैसा लिएर बसेका छन रे अझै घटे पछि किनौला भनेर ।’
उनलाइ जवाफ दिँदै यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘गत वर्ष पनि असारको १७ गतेबाट बजार बढेको हो । यसपटक पनि हुने त्यही हो । सेयर बजारमा लगानीकर्ता असार १५ मा दहि खाएर बजार पस्छन् । आजबाट स्मार्ट लगानीकर्ता बजार पसे जस्तो छ । यो बेला भनेको धान मात्रै रोप्ने बेला होइन सेयर बजारमा पनि लगानी गर्ने बेला हो । आजबाट सेयर बजारमा लगानीकर्ता पसे जस्तो छ । अहिले लगानी गरे कार्तिक सम्म भित्राउन पाइन्छ ।’