काठमाण्डौ । हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार भन्ने बुझिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क. अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन ।
यसर्थ, रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सो सम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने गर्नु हुँदैन । कसैले हुण्डीसम्बन्धी कसूर गरेमा विगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था रहेको छ ।
त्यसकारण, नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र विप्रेषण कम्पनीहरूको मात्र प्रयोग गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न समेत सबैमा आह्वान गरेको छ ।