काठमाण्डौ । देशभरका सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले यसअघि गरेको प्रतिबद्धताअनुसार आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले पुनः आन्दोलन थालेका हुन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको ब्यानरमा सुनचाँदी व्यवसायीहरुले बुधबार काठमाण्डौको न्यूरोड क्षेत्रमा सिठी बजाएर प्रदर्शन गरे ।

आन्दोलनमा देशभरका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको दुवै महासंघका आधिकारिक प्रतिनिधिहरुले जनाएका छन् ।

बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् । यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले असारदेखि आन्दोलन स्थगित गरेका थिए।

सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने वचन दिए पनि त्यसको सुनुवाई नभएपछि पुनः आन्दोलन थालेका हुन् । विगत केही दिनदेखि व्यवसायीहरुले आफ्ना पसलहरु बन्द गरेर विरोध जनाइरहेका थिए । बुधबार भने सिठी बजाएर प्रदर्शन गरेका हुन् ।


उनीहरुको प्रदर्शनका कारण न्यूरोड क्षेत्रको सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

सरकारले बजेट मार्फत सुनका सबै किसिमका गरगहनामा २ प्रतिशत विलासी कर र बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) लगाएको थियो । यिनै दुई व्यवस्था खारेज हुनुपर्ने उनीहरुको माग छ ।
