काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्राक्चर्स एशोसिएसन(नाइमा)ले रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुर्याएको अपुरणीय क्षतिप्रति दुःख ब्यक्त गरेको छ । नाइमाले एक विज्ञप्ती जारी गर्दै यस विपद्ले धेरै परिवारको जीवन, घर, व्यवसाय, र आशा एकैचोटि बगाएकाले पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, यो कठिन घडीमा उनीहरूलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गरेको छ ।
‘यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आ हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ ।
चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ,’ नाइमाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ यसका साथै नाइमाले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आग्रह समेत गरेको छ । तात्कालिक रूपमा गरिहाल्नुपर्ने कैयौं आवश्यकताहरूको सन्दर्भमा निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि तत्पर रहेको समेत नाइमाले उल्लेख गरेको छ ।