काठमाण्डौ । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३.८१ प्रतिशत बढी हो । गत वर्ष जेठ मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा १२ बैंक नाफामा देखिएका छन् भने तीनवटा विकास बैंकले घाटामा देखिएका छन् । नाफामा रहेका बैंकमध्ये पनि ९ वटाको नाफा गत आवको तुलनामा बढेको छ भने तीनवटाको घटेको छ ।
जेठ मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले ७३ करोड ८८ लाख, कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख, ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख, र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता तीन विकास बैंकले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड १३ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
सबैभन्दा बढी नाफा बढाउने बैंकमा मितेरी डेभलपमेन्ट बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा ६७.९० प्रतिशत बृद्धि भएको छ ।
त्यस्तै, सबैभन्दा बढी नाफा घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा ४८.३० प्रतिशतले घटेको छ ।