काठमाण्डौ । पछिल्लो समय बीमा कम्पनीहरुमा पनि बैंकहरुको जस्तो अभ्यास चल्न थालेको छ । केही वर्षयता बैंकहरु बढी नगद लाभांशमा केन्द्रित हुँदा अब बीमा कम्पनीहरु पनि यस्तै अभ्यासमा देखिएका छन् ।
अधिकांश बीमा कम्पनीहरुको चुक्तापूँजी नियामकले तोकेबमोजिम पुगेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो ।
सोही बमोजिम केही कम्पनीले मर्जरको बाटो रोजेका थिए भने केहीले बोनस सेयर र हकप्रदको सहायता लिएका थिए । चुक्तापूँजी वृद्धिकै लागि अधिकांश बीमकहरुले हकप्रदको बाटो रोजेका थिए । त्यसमध्ये केहीको तोकिएको चुक्तापूँजी पुगिसकेको छ भने केही कम्पनी अझै हकप्रद प्रक्रियामा नै छन् ।
चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीहरुले भने अब बोनस सेयरको सहायता नलिने सम्भावना बढी देखिएको छ । आव २०८०/८१ को मुनाफाबाट चुक्तापूँजी पुगिसकेका अधिकांश बीमकहरुले नगद लाभांशमा बढी जोड दिएका थिए ।
आव २०८१/८२ को मुनाफाबाट पनि अब यो वर्षका लागि अधिकांश बीमा कम्पनीले बोनस भन्दा बढी नगदमै जोड दिने सम्भावना देखिन्छ । केही दिनअघि मात्रै नियामकले तोकेको पूँजी पुर्याइसकेको सन नेपाल लाइफ इन्स्योरेन्सले पनि कुनै खालको लाभांश नबाँड्ने निर्णयले सेयर लगानीकर्ताहरु बीमा कम्पनीमा विकर्षण भएका छन् ।
सन नेपाल लाइफले अघिल्लो आवमा उल्लेख्य नाफा कमाएपनि हकप्रदमार्फत पूँजी पुर्याएपछि लगानीकर्तालाई कुनै खालको लाभांश निर्णय गरेको छ ।
अघिल्लो आवको मुनाफाबाट पनि पूँजी पुगिसकेका बीमा कम्पनीहरु बढी नगद लाभांशमा नै केन्द्रित थिए । बोनस दिने कम्पनीहरुले पनि नगद भन्दा बोनस थोरै मात्रै वितरण गरेका थिए ।
विगतमा राम्रो बोनस बाँड्दै आएका एनएलजी इन्स्योरेन्सले जम्मा २.५० प्रतिशत, नेकोले ७ प्रतिशत, एशियन लाइफले ५.१० प्रतिशत, नेशनल लाइफले ५ प्रतिशत र सानिमा रिलायन्सले जम्मा १.२५ मात्रै बोनस बाँडेका थिए । साथै आइएमई लाइफ, सगरमाथा लुम्बिनी, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, हिमालयन लाइफ र सूर्यज्योति लाइफले उल्लेख्य मुनाफा कमाएपनि नगद मात्रै बाँडेका थिए ।
यो वर्षका लागि अब बोनस सेयर दिन सक्ने सीमित कम्पनीहरुमा मात्रै सम्भावना बढी देखिएको छ । बोनस नै दिएपनि विगतका वर्षहरुमा जस्तो राम्रो बोनस नबाँड्ने संकेत अधिकांश बीमा कम्पनीमा देखिएको छ ।
पूँजी नपुर्याएका बीमा कम्पनीहरुमा अब केही कम्पनी मात्रै बाँकी छन् । ती कम्पनीहरु पनि हकप्रदमार्फत पूँजी पुर्याउने तयारीमा छन् । हाल प्रभु महालक्ष्मी लाइफ, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड र सानिमा जिआइसी इन्स्योरेन्स हकप्रदको लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।
यी कम्पनीहरुले पनि हकप्रदपछि अपुग हुने पूँजी बराबरको बोनस सेयर अघिल्लो आवमा वितरण गरिसकेका छन् ।
आव २०८०/८१ को मुनाफाबाट पूँजी पुगिसकेका बीमकमा बोनस बाँड्ने कम्पनीहरु नेपाल लाइफ, नेशनल लाइफ, रिलायबल नेपाल लाइफ, सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्स मात्रै थिए । सम्भवतः यीनै कम्पनीहरुले मात्रै यो वर्षका लागि उत्कृष्ट बोनस सेयर दिन सक्ने सम्भावना रहेको छ ।