बिहीबार, आश्विन २३,२०८२ 12:50:00
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 12:50:00
IME remit
Global IME Bank Limited

आरजूका 'प्रिय पात्र' गभर्नर विश्व पौडेललाई पद त्याग्न जेनजीको दवाब, नटेरे आन्दोलन

पौडेलमाथि पटक-पटक उठेको छ नैतिकताको प्रश्न, कार्यसम्पादन पनि निकै कमजोर

Hyundai Nepal
आरजूका 'प्रिय पात्र' गभर्नर विश्व पौडेललाई पद त्याग्न जेनजीको दवाब, नटेरे आन्दोलन
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री आरजू देउवाको प्रिय पात्रको परिचय बनाएका विश्वनाथ पौडेलले नेपाल राष्ट्रबैंकको गभर्नर पदबाट राजीनामा दिनुपर्ने माग जेनजी समूहमा उठेको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सामूहिक राजीनामा माग्दै मंगलबार आधिकारिक पत्र दर्ता गराएको जेनजी अलायन्सका सदस्यहरुबीच आरजू राणा देउवानिकट मानिने विश्व पौडेलले गभर्नरबाट राजीनामा दिनुपर्ने, अटेर गरे आन्दोलनको बलबाट समेत हटाउने विषयमा कुराकानी भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अलायन्सका एक सदस्यका अनुसार केही दिनअघिदेखि गभर्नरको रुपमा कांग्रेस कार्यकर्ताको नियुक्ति भएको र पौडेलले निश्पक्ष तथा प्रभावकारी काम पनि गर्न नसकेका कारण उनले राजीनामा दिनुपर्ने माग गरेर अगाडि बढ्नुपर्ने विषयमा अलायन्सभित्र छलफल सुरु भएको छ ।  

'आफैं कांग्रेसबाट प्रत्यक्ष चुनाव लड्नुभएको नेता हुनुहुँदो रहेछ अहिलेका गभर्नर । खासमा उहाँलाई गभर्नर बनाउनै नमिल्ने, तर दुई ठूला दलले जे गर्दा पनि हुन्छ भनेर बलमिच्याईं गरेका देखियो ।' अलायन्सका एक सदस्यले भनेः 'राष्ट्रबैंकजस्तो सम्वेदनशील निकायमा राजनीतिक कार्यकर्ता भर्ति गरिनु गलत हो । यो बेथिति अन्त्यका लागि समेत अहिलेका गभर्नरले समयमै राजीनामा दिनु बुद्धिमानी हुन्छ भन्ने कुरा छ ।'  

जेनजी आन्दोलनका क्रममा नेता देउवाको घरमा आगजनी हुँदा ठूलो परिमाणमा पैसा जलेको भेटिएको र भ्रष्टाचारको पैसा त्यहाँ राखिएको विषयमा सम्पत्ति शुद्धिकरण लगायत राज्यका निकायले छानबिन गरिरहेका छन् । जेनजी समूहमा केहीले आरजू देउवाको पैसामोहलाई सहयोग गर्ने एक महत्वपूर्ण पात्र विश्व पौडेल पनि रहेका विश्लेषण समेत हुने गरेको छ । 'देउवासँग निकट रहेर काम गरेकै कारण उहाँलाई एकपछि अर्को अवसर दिइएको रहेछ ।' एक जेनजीले बिजशालासँग भनेः 'जेनजीको बलिदानको जगमा नयाँ सरकार बनेपछि अब विश्वनाथ पौडेलजस्ता नेताको भ्रष्टाचारमा सहयोग गर्ने कार्यकर्तालाई केन्द्रीय बैंकको नेतृत्वमा बस्न सुहाउन्न । उहाँ आफैंले मार्गप्रशस्त गर्नुभए राम्रो हुन्थ्यो ।' 

यसैबीच, जेनजी समूहबाट आफू टार्गेटमा पर्ने सूइँको पाएका गभर्नर पौडेल स्वयम् पनि राजीनामा गर्ने मूडमा रहेका उच्च स्रोतहरु दाबी गर्छन् । उनी केही दिनअघि नै राजीनामा दिन तम्सिए पनि अर्थमन्त्री रामेश्वर खनालले रोकेका चर्चा समेत सिंहदरबारमा हुने गरेको छ ।  

त्यसै पनि केन्द्रीय बैंकको गभर्नर बन्ने उपयुक्त योग्यता नभएका उनलाई सो पद थमाइएपछि विवादमा तानिएका छन् । उनको योग्यतासम्बन्धी विवाद अदालतमा अझै विचाराधीन अवस्थामा छ । अघिल्लो चुनावसम्म कांग्रेस उम्मेद्वार बनेर हिँडेका उनी केन्द्रीय बैंकको नेतृत्वमा आइरहँदा नैतिकताको प्रश्न समेत खरो रुपमा उठेको थियो । तर, त्यसबेलाको सत्ता र शक्तिको आडमा आफैं गभर्नर छनौट समितिको सदस्य बनेका उनी राजीनामा गरी गभर्नर बन्न तयार भएका थिए । त्यो विषयमा समेत उनीमाथि निरन्तर नैतिकताको प्रश्न उठेको थियो ।  

केही समयअघिसम्म आफैं गभर्नर सिफारिस तथा छनौटको सदस्यको रुपमा रहेका उनी आफ्नो पक्षमा पासा पल्टिने देखेपछि अवसरलाई छोप्न त्यहाँबाट राजीनामा गरी गभर्नर बनेका थिए । कांग्रेसभित्रै पनि उनलाई देउवाको जोडबलमा ‘अरु योग्य मानिस नै छैनन्’ जस्तो गरी गभर्नर बनाइएकोप्रति असन्तुष्टि थियो ।  

यसैबीच, राजीनामाका लागि आएका दवाब वा मनस्थितिको विषयमा गभर्नर पौडेलसँग बुझ्नलाई हामीले पटक–पटक उनको मोवाइलमा फोन गरेका थियौं । उनले कुनै पनि कलको रेसपोन्स गरेनन् । हामीले ह्वाट्सअपमा हाम्रो जिज्ञासा लेखेर पठाएका थियौं, तर त्यसको समेत उनले जवाफ दिएनन् ।  

त्यसपछि उनको सचिवालयमा कार्यरत केन्द्रीय बैंकका एक अधिकारीमार्फत समेत हामीले खबर पठायौं । ती अधिकारीले बिजशालासँग भने–‘उहाँ हिजोआज बढी नै टेन्सनमा हुनुहुन्छ जस्तो लाग्छ । त्यही भएर फोन नउठाउनुभएको होला ।’

जेनजी आन्दोलनका क्रममा पौडेलको घर पनि जलाइएको थियो । उनको घर जलेलगत्तै दशैंअघि नै उनले आफ्नी पत्नी र छोरीलाई अमेरिका पठाइसकेका छन् । उनी स्वयम् पनि राजीनामा गरेर अमेरिकातर्फ नै भासिने तयारीमा रहेका उनीनिकटका स्रोतहरुको दाबी छ । हाल गभर्नर पौडेल थापाथलीस्थित केन्द्रीय बैंकको भवनमा बस्ने गरेका छन् । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.