दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर मावि मतदान केन्द्रमा मतपत्र र स्वस्तिक छाप लुट्ने प्रयास भएपछि विवाद चर्किएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएका मतपत्र र स्वस्तिक छाप लिएर गएपछि मतदान केन्द्रमा तनाव उत्पन्न भएको हो।
“मतपत्र र छाप लिएर गएपछि समस्या भएको हो। लगिएका मतपत्र अझै फेला परेका छैनन्, खोजी भइरहेको छ,” उनले बताए।
घटनापछि प्रहरीले केही बुथ प्रतिनिधिलाई नियन्त्रणमा लिएको जनाएको छ। यसअघि सोही केन्द्रमा कर्मचारीमाथि हातपात भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो।

