काठमाण्डौ । राष्ट्रपति बन्ने चर्चा चुलिँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्दैछन् ।
उनको सचिवालयका अनुसार, भोलि बुधबार उनी नयाँ दिल्ली जान लागेका हुन् । त्यहाँ भारत मण्डपममा मार्च १२, १३ र १४ तारिखमा आयोजना हुने ‘NEXT २०२६’ ग्लोबल समिटमा ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुन उनी भारत पुग्न लागेका हुन् ।
यो समिटमा विश्वभरिका नीति निर्माता, सांसद, प्रविधि विशेषज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी हुने कार्यक्रम छ । समसामयिक वैश्विक मुद्दाहरू जस्तै विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्धमा गहन छलफल हुने आयोजकले जनाएका छन् ।
समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहने बताइएको छ । विभिन्न देशका सांसद, नीति निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागितासहित यो सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।
डा। भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआईस् डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी सोही दिन स्वदेश फर्किने तालिका छ ।
यो भ्रमणलाई राजनीतिक वृत्तमा राष्ट्रपति पदको चर्चासँग जोडेर हेरिएको छ, तर औपचारिक रूपमा यो अन्तर्राष्ट्रिय समिटमा सहभागिताको लागि मात्र रहेको उनको सचिवालयको दाबी छ ।

