काठमाण्डौं । वैदेशिक रोजगारीको नाममा आकर्षक अवसरको प्रलोभन देखाएर ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तेह्रथुमका सुरज पंधाक लिम्बू, सोलुखुम्बूका कमलबहादुर पुलामी मगर, काभ्रेका बिनोद थापा, सोलुखुम्बूका सागर शेर्पा, सिन्धुपाल्चोकका सूर्यप्रसाद कोइराला, काभ्रेका प्रल्हाद खत्री र सरोज गौतम रहेका छन् ।
अनुसन्धान विवरणअनुसार केही समूहले ठूलो संख्यामा पीडितबाट रकम संकलन गरेका थिए भने केहीले व्यक्तिगत रूपमा विदेश पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुलेका थिए ।
बिनोद थापाले मात्र कोरिया पठाइदिने भन्दै २६ जनाबाट १ करोड ५० लाख रुपैयाँ लिएको पीडितले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले ४५ जनाबाट करिब ३ करोड १६ लाख रुपैयाँ असुलेको देखिएको छ ।
पक्राउ परेकामध्ये केहीले “विश्वसनीय एजेन्ट” को रूपमा आफूलाई प्रस्तुत गर्दै जापान, कोरिया, फ्रान्स, अमेरिका र ग्रीस पठाइदिने भन्दै रकम उठाएको खुलेको छ ।
तर, पैसा लिएपछि उनीहरू सम्पर्कविहीन हुने गरेको पीडितहरूको दाबी छ ।
पक्राउ परेकामध्ये केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने केहीलाई वैदेशिक रोजगार विभाग ताहाचलमा थप अनुसन्धानका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

