शुक्रबार, श्रावण १,२०८३ 03:59:20
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 03:59:20
Bizshala
Global IME Bank Limited

सेयर बजारमा बोटमार्फत भईरहेको कारोबारप्रति फुल्लेलद्वारा चिन्ता व्यक्त, साना लगानीकर्ता जोखिममा पर्ने चिन्ता

सेयर बजारमा बोटमार्फत भईरहेको कारोबारप्रति फुल्लेलद्वारा चिन्ता व्यक्त, साना लगानीकर्ता जोखिममा पर्ने चिन्ता
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले नेपालमा पछिल्लो समय सेयर बजारमा बोट(अटोमेटेड ट्रेडिङ सिस्टम) प्रयोग गरेर कारोबार गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार प्रविधिको प्रयोगमार्फत स्वचालित रूपमा गरिने कारोबारले बजारमा अस्वाभाविक उतारचढाव तथा कृत्रिम माग–आपूर्तिको अवस्था सिर्जना गर्न सक्ने जोखिम बढाएको छ।

उनले भने, ‘नेपालको सेयर बजारमा पछिल्लो समय बोट प्रयोग गरेर कारोबार गर्ने प्रवृत्ति बढेको भनेर हल्लाहरू सुनिन थालेको छ ।सचेतना स्वरूप केहि अनलाईन मेडियाहरूबाट जानकारी÷सचेतना गराईरहेको पाईएको छ ।’

उनले बोट प्रणाली पूर्वनिर्धारित मूल्य, भोल्युम, समय तथा प्राविधिक संकेतका आधारमा स्वतः खरिद–बिक्री गर्ने कम्प्युटर प्रणाली भएको उल्लेख गर्दै केही लगानीकर्ता तथा संगठित समूहहरूले यसलाई तीव्र गतिमा अर्डर व्यवस्थापन, सानो मूल्य अन्तरबाट नाफा आर्जन तथा बजार मनोविज्ञान प्रभावित गर्न प्रयोग गरिरहेको बताए।

विशेषगरी ठूलो पूँजी भएका समूहहरूले धेरै खातामार्फत एकै समयमा अर्डर राख्ने, कृत्रिम माग–आपूर्ति देखाउने तथा मूल्य प्रभावित गर्ने प्रयास गर्न सक्ने भएकाले यसले सर्वसाधारण लगानीकर्तालाई प्रत्यक्ष असर पार्ने उनको भनाइ छ। यस्ता गतिविधिले बजारमा पम्प एण्ड डम्प प्रकृतिका कारोबार बढाउन सक्ने तथा लगानीकर्तालाई भ्रममा पार्न सक्ने चेतावनी पनि उनले दिएका छन्।

फुल्लेलका अनुसार अचानक बढेको मूल्य र भोल्युमलाई वास्तविक बजार संकेत ठानेर लगानी गर्दा साना लगानीकर्ता उच्च मूल्यमा फस्ने जोखिम रहन्छ। त्यसैगरी कृत्रिम रूपमा बजार घटाइएमा डरका कारण घाटामा सेयर बिक्री गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उनले बताए।

उनले लगानीकर्तालाई बजारको हल्ला, सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा अस्वाभाविक कारोबारको प्रभावमा नपरी कम्पनीको आधारभूत अवस्था, वित्तीय विवरण, व्यवस्थापन क्षमता र दीर्घकालीन सम्भावनाको अध्ययन गरेर मात्र लगानी निर्णय लिन आग्रह गरेका छन्।

साथै नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि प्रविधिको दुरुपयोग नियन्त्रण, शंकास्पद कारोबार निगरानी तथा निष्पक्ष बजार सुनिश्चित गर्न अझ प्रभावकारी प्रणाली विकास गर्नु आवश्यक रहेको देखिएको फुल्लेलको बुझाई छ। ‘समयमै यस्ता खालका गतिविधि निराकरण गर्न सकिएन भने जसको शक्ति उसको भक्ति भन्ने उखान चरितार्थ हुन सक्छ । अन्ततः सुरक्षित लगानीका लागि सचेतना, धैर्यता र अध्ययन नै सबैभन्दा ठूलो आधार हुन,’ उनले भने । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.