काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७८ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको तुलनामा ४६१.४३ प्रतिशत बढी हो । गत आवको वैशाख महिनासम्ममा फाइनान्स कम्पनीहरुले १३ करोड ९९ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा १२ कम्पनीले नाफा कमाएका छन् भने ३ कम्पनी अझै घाटामा छन् । गत आवमा भने ५ कम्पनीले घाटा ब्यहोरेका थिए ।
सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले २४ करोढ ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १८.०७ प्रतिशत बढी हो ।
त्यस्तै, गत आवको वैशाखसम्म ८ करोड ४३ लाख घाटा ब्यहोरेको पोखरा फाइनान्सले सो अवधिसम्म १९ करोड २४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
यसका साथै आइसीएफसीले १२ करोड ३९ लाख, गुडविलले ८ करोड ४५ लाख, गोर्खाजले ६ करोड १५ लाख, वेष्ट फाइनान्सले ५ करोड ७६ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ४ करोड २६ लाख, गुहेश्वरी मर्चेण्टले ४ करोड १९ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ८२ लाख, समृद्धिले १ करोड १६ लाख, मल्टीपर्पसले ८४ लाख र रिलायन्स फाइनान्सले ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।
सो अवधिसम्म तीन कम्पनी भने घाटामा छन् । सर्वाधिक घाटा व्यहोर्नेमा नेपाल फाइनान्स छ । यो कम्पनीले ८ करोड २ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले २ करोड ७७ लाख र जानकी फाइनान्सले १ करोड ९२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।


