मंगलवार, श्रावण ५,२०८३ 04:44:16
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:44:16
Bizshala
Global IME Bank Limited

गभर्नर भुटान जानुअघि आज मौद्रिक नीति आउँदै, कर्जा विस्तारमा जोड

गभर्नर भुटान जानुअघि आज मौद्रिक नीति आउँदै, कर्जा विस्तारमा जोड
New Office

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार आज दिउँसोसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ।

यसका लागि राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बिहान साढे ९ बजेदेखि बसिरहेको छ। व्यवस्थापन समितिको छलफल सकिएलगत्तै सञ्चालक समितिको बैठक बोलाइनेछ। सञ्चालक समितिबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक गरिनेछ।

यसपटकको मौद्रिक नीतिमा कार्यदिशा, मौद्रिक औजार, ब्याजदर करिडोर र तरलता व्यवस्थापनका विषयलाई मुख्य प्राथमिकतामा राखिने बुझिएको छ। तर, बैंक तथा वित्तीय संस्थासँग जोडिएका ठूला नियामकीय प्रावधान भने तत्काल नचलाइने संकेत राष्ट्र बैंक स्रोतले दिएको छ।

हिजोदेखि नै निजी क्षेत्र, बैंकिङ क्षेत्र र पूँजीबजारले मौद्रिक नीतिलाई विशेष चासोका साथ हेरिरहेका छन्। बजेटले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिबाट केही सहज हुने अपेक्षा निजी क्षेत्रको छ। बजारमा पर्याप्त तरलता भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न नसकेको अवस्थामा राष्ट्र बैंकले यसपटकको नीतिमार्फत कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने संकेत दिएको छ।

मध्यपूर्वमा देखिएको युद्धजन्य तनावका कारण मुद्रास्फीतिमा केही दबाब देखिए पनि राष्ट्र बैंकको मूल्यांकनमा अहिलेको अवस्था नियन्त्रणबाहिर छैन। पर्याप्त तरलता, घट्दो ब्याजदरको वातावरण र बाह्य क्षेत्र तुलनात्मक रूपमा सहज देखिएकाले मौद्रिक नीतिले लचिलो कार्यदिशालाई निरन्तरता दिने तयारी गरेको हो।

स्रोतका अनुसार आगामी नीतिको मुख्य लक्ष्य बजारमा उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनु, कर्जाको माग बढाउनु र आर्थिक गतिविधिलाई चलायमान बनाउनु हुनेछ। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिए पनि व्यवसायीहरू कर्जा लिन उत्साहित नदेखिएका कारण राष्ट्र बैंकले मनोबल बढाउने खालको सन्देश दिन खोजेको छ।

गभर्नर विश्वनाथ पौडेल बुधबार भुटान प्रस्थान गर्ने कार्यक्रम छ। त्यसअघि नै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो। गभर्नर पौडेलका लागि यो दोस्रो मौद्रिक नीति हुनेछ।

यसपटकको मौद्रिक नीति कडा नियमनभन्दा पनि आर्थिक गतिविधि चलायमान बनाउने, कर्जा विस्तारलाई गति दिने र बजारमा आत्मविश्वास फर्काउने दिशामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.