काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा साझेदार बन्न आग्रह गरेका छन्। नेपालमा लगानीको वातावरण क्रमशः सुधार भइरहेको उल्लेख गर्दै उनले प्रवासी नेपालीलाई ढुक्क भएर लगानी विस्तार गर्न आह्वान गरेका हुन्।
अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग शनिबार आयोजित भर्चुअल छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतालाई आत्मसात् गरेको बताए। सरकार र राजनीतिक नेतृत्व प्रवासी नेपालीको ज्ञान, सीप, पूँजी र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकाससँग जोड्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
अर्थमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा वाग्लेले प्रवासी नेपालीलाई मुलुकका सद्भावनादूतका रूपमा चित्रण गर्दै मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए। वर्तमान सरकार अर्थतन्त्रलाई चलायमान बनाउँदै दीर्घकालीन आर्थिक विकासको आधार तयार गर्न लागिपरेको भन्दै उनले त्यस अभियानमा विदेशमा रहेका नेपालीको साथ, सहयोग र लगानी आवश्यक रहेको बताए।
सरकारले बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर तथा राजस्व प्रणालीमा सुधार गर्नुका साथै उद्योग र लगानीमैत्री नीतिहरू अघि सारेको अर्थमन्त्री वाग्लेको भनाइ छ। नीतिगत सुधारसँगै लगानीकर्ताको विश्वास बढाउने र व्यावसायिक वातावरण सहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्न हिचकिचाउनुपर्ने अवस्था नरहेको बताए।
नेपालमा गरिएको लगानीबाट प्राप्त प्रतिफल सहज रूपमा विदेश लैजान सकिने व्यवस्था रहेको पनि उनले स्पष्ट पारे। लगानी सुरक्षा, मुनाफा फिर्ता लैजाने प्रक्रिया तथा वैकल्पिक वित्तीय स्रोत परिचालनलाई थप सहज बनाउने दिशामा सरकार अघि बढिरहेको उनको दाबी थियो।
“सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको प्रवासी नेपालीको लगानी नेपालमा विस्तार गर्नकै लागि हो,” अर्थमन्त्री वाग्लेले भने।
उनले विदेशमा सफल भएका नेपाली उद्यमी तथा व्यवसायीलाई पूँजीमात्र नभई सीप, प्रविधि, व्यवस्थापकीय दक्षता र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालसमेत नेपाल भित्र्याउन आग्रह गरे। प्रवासी नेपालीको सक्रिय सहभागिताले रोजगारी सिर्जना, उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र समग्र आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने सरकारको अपेक्षा रहेको उनले बताए।

