आईतवार, श्रावण १०,२०८३ 01:49:04
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 01:49:04
Bizshala
Global IME Bank Limited

एक वर्षमा नेपाल भित्रिए १२ लाख पर्यटक, हरेक चारमध्ये एक भारतीय

एक वर्षमा नेपाल भित्रिए १२ लाख पर्यटक, हरेक चारमध्ये एक भारतीय
New Office

 

काठमाण्डौ ।  आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। कुल पर्यटक आगमनमध्ये करिब एक चौथाइ हिस्सा भारतीय पर्यटकको रहेको छ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष भारतबाट सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्। यो कुल पर्यटक आगमनको २५.७६ प्रतिशत हो।

भारतपछि संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार बनेको छ। अमेरिकाबाट १ लाख ११ हजार ३२५ पर्यटक नेपाल आएका छन्। चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक भित्रिएसँगै चीन तेस्रो ठूलो स्रोत बजार बनेको छ।

त्यसैगरी बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५ र श्रीलंकाबाट ४३ हजार २११ पर्यटक नेपाल आएका छन्।

भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटकले नेपाल भ्रमण गरेका छन्।

कात्तिकमा सबैभन्दा धेरै पर्यटक

महिनागत रूपमा गत आर्थिक वर्ष कात्तिकमा सबैभन्दा धेरै १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ।

पर्यटक आगमनको तथ्यांकले नेपालको पर्यटन क्षेत्र महामारीपछिको पुनरुत्थानबाट क्रमशः स्थिर वृद्धितर्फ अघि बढेको संकेत गरेको बोर्डले जनाएको छ।

भारत र चीनमा केन्द्रित प्रवर्द्धन

नेपाल पर्यटन बोर्डले नेपालको सबैभन्दा नजिकका तथा ठूला सम्भावना भएका भारत र चीनका बजारमा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई र नयाँदिल्लीसहित विभिन्न सहरमा १२ वटाभन्दा बढी पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। समग्र अन्तर्राष्ट्रिय बजारमा भने ४० वटाभन्दा बढी कार्यक्रम गरिएको बोर्डले जनाएको छ।

गत आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएका तराईका क्षेत्रमा गरिएको पर्यटन पूर्वाधारको लगानीलाई उपयोगी बनाउने उद्देश्यले झापादेखि कञ्चनपुरसम्म विभिन्न क्रस–बोर्डर पर्यटन मार्ट तथा मेला आयोजना गरिएको थियो।

यस्ता कार्यक्रमका कारण स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकको संख्यामा वृद्धि भएको बोर्डको विश्लेषण छ।

‘पुनरुत्थानबाट दिगो वृद्धितर्फ पर्यटन’

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटक आगमनमा सकारात्मक वृद्धि भएको बताएका छन्।

“आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको छ,” उनले भने, “प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा लक्षित प्रवर्द्धन गर्दै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास जारी रहनेछ।”

उनले चीनबाट नेपाल आउने पर्यटकको सम्भावना ठूलो भए पनि त्यहाँ लक्षित प्रवर्द्धन, व्यावसायिक सम्पर्क विस्तार र नियमित ‘सेल्स मिसन’ सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

चीनसँगै अमेरिका, अस्ट्रेलिया र बंगलादेशजस्ता उच्च सम्भावना भएका बजारमा नेपालको उपस्थिति बलियो बनाउन निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रम विस्तार गरिने बोर्डले जनाएको छ।

अब उच्च खर्च गर्ने पर्यटकमा जोड

नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरेको उल्लेख गर्दै बोर्डले चालु आर्थिक वर्षमा विदेशी पर्यटकको संख्या थप बढ्ने अपेक्षा गरेको छ।

आगामी दिनमा पर्यटकको संख्यामात्र बढाउने नभई उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइ अवधि लम्ब्याउने र परम्परागत स्रोत बजारबाहेक नयाँ अन्तर्राष्ट्रिय बजारमा पनि नेपाललाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने बोर्डको योजना छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.