सोमबार, श्रावण ११,२०८३ 09:32:41
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 09:32:41
Bizshala
Global IME Bank Limited

नेप्सेको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, मंगलबारदेखि आवेदन खुल्दै

नेप्सेको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, मंगलबारदेखि आवेदन खुल्दै
New Office

काठमाण्डौ । नेपालको एकमात्र स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ नेतृत्व पाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले कार्यकाल पूरा हुनुअघि नै गत असार २२ गते पदबाट राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो।

नयाँ सीईओ छनोटका लागि मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापा विज्ञ सदस्यका रूपमा रहेका छन्।

छनोट समितिले आवेदन आह्वानका लागि आवश्यक तयारी पूरा गरिसकेको छ। मन्त्रालयका अनुसार मंगलबारदेखि इच्छुक तथा योग्य उम्मेदवारले आवेदन दिन सक्नेछन्। आवेदन दिने समयसीमा, आवश्यक योग्यता, अनुभव तथा अन्य सर्तहरू सार्वजनिक सूचनामार्फत स्पष्ट गरिनेछ।

प्राप्त आवेदनमध्ये उम्मेदवारको शैक्षिक योग्यता, पूँजीबजार तथा वित्तीय क्षेत्रको अनुभव, नेतृत्व क्षमता र प्रस्तुत कार्ययोजनाका आधारमा प्रारम्भिक मूल्याङ्कन गरिनेछ। त्यसपछि उत्कृष्ट उम्मेदवारको संक्षिप्त सूची तयार गरी व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइनेछ। सबै चरणको मूल्याङ्कनपछि समितिले उपयुक्त उम्मेदवारहरूको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ।

नेप्सेको नयाँ सीईओ छनोटलाई यसपटक सामान्य प्रशासनिक नियुक्तिभन्दा पनि पूँजीबजार सुधारको दिशासँग जोडेर हेरिएको छ। सरकारले इन्ट्राडे कारोबार, सर्ट सेलिङ, डेरिभेटिभ्स तथा प्रविधिमा आधारित नयाँ कारोबार प्रणाली सञ्चालन गर्ने नीति अघि सारेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न सक्ने सक्षम नेतृत्व आवश्यक देखिएको छ।

पछिल्लो समय नेप्सेको कारोबार प्रणालीको क्षमता, साइबर सुरक्षा, बजार निगरानी, संस्थागत सुशासन र लगानीकर्ताको हित संरक्षणका विषयमा प्रश्न उठ्दै आएका छन्। त्यसैले नयाँ सीईओका लागि दैनिक प्रशासन सञ्चालन गर्ने क्षमतामात्र पर्याप्त नहुने देखिन्छ। प्रविधिगत आधुनिकीकरण, बजार विस्तार, नियामक निकायसँग समन्वय र बजारमा हुने सम्भावित चलखेल नियन्त्रण गर्न सक्ने स्पष्ट दृष्टिकोणसमेत आवश्यक पर्नेछ।

नेप्सेको पुनर्संरचना, रणनीतिक साझेदार भित्र्याउने पुरानो योजना तथा स्वामित्व संरचना सुधारको बहस पनि लामो समयदेखि निष्कर्षविहीन छ। नयाँ नेतृत्वले यी विषयलाई अघि बढाउने स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने चुनौती रहनेछ।

नयाँ सीईओ नियुक्तिमा राजनीतिक प्रभावभन्दा व्यावसायिक योग्यता र पूँजीबजारसम्बन्धी दक्षतालाई प्राथमिकता दिइन्छ कि दिइँदैन भन्ने विषयलाई समेत लगानीकर्ताले चासोपूर्वक हेरिरहेका छन्। छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धी बनेमा नयाँ नेतृत्वबाट नेप्सेको संस्थागत क्षमता बलियो बनाउँदै नेपाली पूँजीबजारलाई आधुनिक चरणमा लैजाने अपेक्षा गर्न सकिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.