सोमबार, श्रावण ११,२०८३ 09:34:54
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 09:34:54
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’

साउनभित्रै आईपीओ, इन्ट्राडे, मार्जिन लेन्डिङ र सर्ट सेलिङका परामर्शपत्र तथा मस्यौदा तयार हुने, भदौदेखि सरोकारवालासँग छलफल

राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त, विश्वसनीय र प्रभावकारी नियामक संस्थाका रूपमा विकास गर्न निर्देशन दिएका छन्।

सोमबार ललितपुरको खुमलटारस्थित सेबोन कार्यालयको निरीक्षण भ्रमणका क्रममा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले पूँजीबजार नियमनमा कुनै पनि प्रकारको विचलन स्वीकार्य नहुने स्पष्ट संकेत गरे। उनले नियामकीय गुणस्तर बढाउँदै उच्च नैतिकतासहित पूँजीबजारको विकास अघि बढाउन बोर्ड नेतृत्वलाई निर्देशन दिएका हुन्।

“वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका छ, धितोपत्र बजारमा सेबोन पनि त्यही हैसियतमा पुग्नुपर्छ,” अर्थमन्त्री वाग्लेको भनाइ उद्धृत गर्दै बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय डिम्याट खाताको संख्या तीव्र रूपमा बढेसँगै सेबोनप्रति लाखौँ लगानीकर्ताको अपेक्षा पनि बढेको उल्लेख गर्दै उनले बोर्डलाई संस्थागत रूपमा बलियो र निर्णयमा निष्पक्ष बन्न आग्रह गरे। सेबोनलाई कुनै प्रभाव वा दबाबमा नपर्ने ‘विचलनरहित र गह्रुँगो नियामक’ का रूपमा विकास गर्नुपर्ने उनको जोड थियो।

नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको नेतृत्वमा सेबोनले दीर्घकालीन रणनीति अपनाएर बजार विकासको गति समात्न खोजेको र त्यसबाट लगानीकर्ताबीच सकारात्मक सन्देश गएको अर्थमन्त्री वाग्लेको टिप्पणी थियो। नयाँ सरकार र नयाँ नेतृत्वसँगै बोर्डको कार्यपद्धतिमा परिवर्तन आएको अनुभूति बजारमा हुन थालेको उनले बताए।

साउनमै आईपीओदेखि सर्ट सेलिङसम्मका मस्यौदा

कार्यक्रममा सेबोन अध्यक्ष डा. भट्टले बोर्डले तयार गरेको ‘क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट’ कार्यान्वयनमा गइसकेको जानकारी गराए। आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीति तथा कार्ययोजनाको कार्यान्वयनसमेत सुरु भइसकेको उनले बताए।

भट्टका अनुसार बोर्डले साउन महिनाभित्रै प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित विभिन्न नीतिगत उपकरणका परामर्शपत्र, नियम र निर्देशिकाका प्रारम्भिक मस्यौदा तयार गर्ने लक्ष्य राखेको छ। यसमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ), मार्जिन लेन्डिङ र सर्ट सेलिङलगायतका विषय समेटिनेछन्।

तयार भएका दस्तावेजमाथि भदौदेखि लगानीकर्ता, बजार सञ्चालक, ब्रोकर, मर्चेन्ट बैंकर तथा अन्य सरोकारवालासँग परामर्श सुरु गरिने बोर्डको योजना छ। प्राप्त सुझावका आधारमा प्रस्तावित नीति, नियम र निर्देशिका परिमार्जन गरेर क्रमशः कार्यान्वयनमा लगिने अध्यक्ष भट्टले जानकारी दिए।

‘नीतिमा राजनीतिक–अर्थतन्त्रको कोणसमेत हेर्नू’

अर्थमन्त्री वाग्लेले पूँजीबजारसँग सम्बन्धित नीति प्राविधिक दृष्टिकोणबाट मात्र तयार गर्न नहुने धारणा राखे। बजारमा हुने प्रत्येक नीतिगत निर्णयले लगानीकर्ता, व्यवसायी, सरकार र समग्र अर्थतन्त्रमा पार्ने प्रभावलाई ध्यान दिएर ‘पोलिटिकल इकोनोमी’को कोणबाट नीति बनाउनुपर्ने उनको भनाइ थियो।

पर्याप्त छलफल नगरी नीति लागू गर्दा बजारमा अनपेक्षित प्रभाव पर्न सक्ने संकेत गर्दै उनले सरोकारवालासँग गहन परामर्शपछि मात्र नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिए। यसरी अघि बढेमा बजारको दिगो र संस्थागत विकासमा सहयोग पुग्ने उनको विश्वास थियो।

सेबोन अध्यक्ष भट्टले भने पूँजीबजारको विकासमा देखिएका विद्यमान चुनौती समाधान, कर्मचारीको कार्यउत्प्रेरणा वृद्धि तथा नीति–कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयको सहजीकरण मागेका थिए।

अर्थमन्त्री वाग्लेले सेबोनको नियामकीय तथा कानूनी सुधारका लागि सरकारले आवश्यक सबै किसिमको सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका उच्च अधिकारी, सेबोन सञ्चालक समितिका सदस्य तथा बोर्डका उच्च पदस्थ कर्मचारी सहभागी थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.