सोमबार, श्रावण ११,२०८३ 07:02:24
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 07:02:24
Bizshala
Global IME Bank Limited

Ground Zero: लगानीकर्ताको हात ‘बाइ’ बटनमा, विश्वासमाथि कर र आईपीओको प्रहार

Ground Zero: लगानीकर्ताको हात ‘बाइ’ बटनमा, विश्वासमाथि कर र आईपीओको प्रहार
New Office

काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही दिन लगातार बढेको सेयरबजारले लगानीकर्तामा आशा जगाएको थियो। लामो समयदेखि साइडवेजमा अल्झिएको बजार अब लयमा फर्किने अपेक्षासहित ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहलसमेत बढ्न थालेको थियो।

तर, पछिल्ला दुई कारोबार दिनमा बजारले पुनः ओरालो बाटो समातेपछि उत्साहमाथि आशंका हाबी भएको छ। लगानीकर्ता बजारप्रति पूर्ण निराश भने देखिँदैनन्। उनीहरू घटेको मूल्यमा राम्रा कम्पनीको सेयर उठाउने तयारीमा छन्। तर सरकारको कर नीति, कमजोर कम्पनीलाई समेत आईपीओ निष्कासनको अनुमति दिने प्रवृत्ति तथा बजारमा निरन्तर थपिइरहेको आपूर्तिप्रति उनीहरूको गहिरो असन्तुष्टि छ।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार चारखाल, घट्टेकुलो र अनामनगरका ब्रोकर हाउसमा पुग्दा लगानीकर्ताको मनोविज्ञान मिश्रित भेटियो। उनीहरूको हात खरिद आदेशतर्फ अघि बढिरहेको थियो, तर मुखबाट भने नीति–निर्माताप्रति आक्रोश पोखिइरहेको थियो।

लगानीकर्ताको साझा निष्कर्ष थियो-बजारमा खरिद गर्ने अवसर छ, तर नीतिगत वातावरणले नाफा कमाउन कठिन बनाउँदै लगेको छ। साउनदेखि बढेको पूँजीगत लाभकरले छोटो अवधिमा नाफा बुक गर्ने रणनीतिमा प्रत्यक्ष दबाब परेको उनीहरूको अनुभव छ। अर्कोतर्फ, कमजोर वित्तीय आधार भएका कम्पनीको आईपीओ र निरन्तर बढ्दो सेयर आपूर्तिले दोस्रो बजारको माग कमजोर बनाएको उनीहरूको बुझाइ छ।

चारखालमा रणनीति-‘मूल्य घटेकै बेला सेयर उठाऔँ’

हामी सबैभन्दा पहिले चारखालस्थित श्रीकृष्ण सेक्युरिटिज पुग्यौँ। त्यतिबेला नेप्से परिसूचक झिनो अंकले सकारात्मक थियो। लगानीकर्ताको उपस्थिति सामान्य देखिए पनि केही लगानीकर्ता खरिदका लागि सम्भावित कम्पनी छानिरहेका थिए।

उनीहरूको प्राथमिकतामा नयाँ कम्पनी र जलविद्युत् समूहका सेयर थिए। एक महिला लगानीकर्ताले चिलिमे हाइड्रोपावरलाई आफ्नो रोजाइको कम्पनीका रूपमा प्रस्तुत गरिन्।

‘चिलिमे मेरो मनपर्ने कम्पनी हो। यसबाट पहिले पनि राम्रो कमाएकी छु,’ उनले भनिन्, ‘मूल्य अझै घट्यो भने फेरि किन्ने योजना छ।’

उनको भनाइमा सहमति जनाउँदै अर्का लगानीकर्ताले बजार घटेको समय नै सेयर जम्मा गर्ने अवसर भएको बताए।

‘बजार बढ्न थालेपछि चाहेको मूल्यमा सेयर पाइँदैन,’ उनले भने, ‘अहिले केही दिनको वृद्धिपछि फेरि करेक्सन आएको छ। राम्रा कम्पनी हेरेर विस्तारै उठाउने बेला हो।’

चारखालमा लगानीकर्ताको रुचि हाइड्रोपावरतर्फ बढी देखिए पनि त्यसै क्षेत्रमा भविष्यमा ठूलो बिक्री दबाब आउन सक्ने चिन्ता पनि सुनियो। एक लगानीकर्ताका अनुसार अहिले हाइड्रोपावरमा आकर्षण र माग दुवै देखिए पनि लकइन अवधि सकिने सेयर तथा नयाँ सूचीकृत कम्पनीको आपूर्तिले बजारमा दबाब सिर्जना गर्न सक्छ।

‘अहिले हाइड्रोमा चार्म छ, तर केही दिनपछि ठूलो सप्लाई पनि आउन सक्छ,’ उनले भने, ‘माग मात्रै हेरेर हुँदैन, बजारमा कति सेयर थपिँदै छ भन्ने पनि बुझ्नुपर्छ।’

‘नाफा थोरै, करको भार धेरै’

श्रीकृष्ण सेक्युरिटिजमै भेटिएका केही पुराना लगानीकर्ता भने बजारले अपेक्षित गति नलिएकोमा निराश देखिए। ब्रोकर हाउससम्म आए पनि बजारले साथ नदिएको उनीहरूको गुनासो थियो।

‘ब्रोकरसम्म आइयो, दुई-चार पैसा नाफा होला भन्ने थियो,’ एक लगानीकर्ताले भने, ‘तर हामी आएपछि बजार नै बढ्न मान्दैन।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले पूँजीगत लाभकर वृद्धिलाई बजारको मनोबल कमजोर बनाउने कारण बताए। विशेषगरी छोटो अवधिको कारोबार गर्ने लगानीकर्ताका लागि थोरै नाफा बुक गर्दा पनि करको हिस्सा ठूलो देखिने उनको अनुभव थियो।

‘थोरै नाफा हुँदा बेचौँ भने बढेको करले नाफाको आकर्षण नै घटाइदिन्छ,’ उनले भने, ‘जोखिम लगानीकर्ताले लिने, तर कमाएको रकमको ठूलो हिस्सा करमा जाने भएपछि कारोबार कसरी बढ्छ ?’

लगानीकर्ताको यो भनाइले बजारको मुख्य मनोवैज्ञानिक समस्या देखाउँछ। सरकारका लागि बढेको कर तत्काल राजस्वको स्रोत बन्न सक्छ, तर कारोबार गर्ने उत्साह घटेर बजारको टर्नओभर नै खुम्चिए दीर्घकालमा राजस्वमाथि उल्टै दबाब पर्न सक्ने जोखिम रहन्छ।

घट्टेकुलोमा हाइड्रोको चर्चा, बैंकिङमाथि बजार टिकाउने भरोसा

त्यसपछि हामी घट्टेकुलोस्थित भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ३४ मा पुग्यौँ। त्यतिबेलासम्म बजार सामान्य अंकले ऋणात्मक बनिसकेको थियो। उपस्थिति धेरै बाक्लो नभए पनि लगानीकर्ता सम्भावित खरिदका लागि सक्रिय देखिन्थे।

यहाँ पनि हाइड्रोपावर कम्पनीमै बढी चासो थियो। केही लगानीकर्ताको ध्यान भने बैंकिङ समूहमा केन्द्रित थियो। उनीहरूको बुझाइमा हाइड्रोपावरका सीमित कम्पनीले बजारमा चमक ल्याउन सक्ने भए पनि समग्र बजारलाई दीर्घकालीन गति दिन बैंकिङ समूह चल्नैपर्छ।

‘आज बैंकिङ इन्डेक्स केही बढ्न खोजेजस्तो छ, अन्तिमसम्म जे पनि हुन सक्छ,’ एक लगानीकर्ताले भने, ‘तर बजार साँच्चै चल्ने हो भने बैंकिङ समूह बढ्नुपर्छ। बैंक नचली सूचकको वृद्धि टिकाउ हुँदैन।’

पछाडि बसेका दुई लगानीकर्ता केही जलविद्युत् कम्पनीको मूल्य उतारचढाव नियालिरहेका थिए। उनीहरूले सीएचडीसीको मूल्य वृद्धिबारे सम्भावित वित्तीय विवरण र लाभांशसँग जोडेर चर्चा गरे। तर उनीहरूको कुराकानी अनुमानमा आधारित थियो। यसले बजारमा आधिकारिक सूचनाभन्दा सम्भावना, हल्ला र अपेक्षाले पनि खरिद निर्णय प्रभावित गरिरहेको देखाउँथ्यो।

अनामनगरमा आईपीओ नीतिमाथि चर्को असन्तुष्टि

हाम्रो अन्तिम गन्तव्य अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज थियो। अन्य दुई ब्रोकरको तुलनामा यहाँ लगानीकर्ताको उपस्थिति बाक्लो थियो। बजार सामान्य अंकले घटिरहे पनि लगानीकर्ता बैंक, वित्त र न्यून चुक्तापूँजी भएका कम्पनीको सम्भावित चालबारे छलफल गरिरहेका थिए।

कुराकानीका क्रममा चर्चित लगानीकर्ताका पोर्टफोलियो र ‘लो क्याप’ कम्पनीमा केन्द्रित रणनीतिबारे अपुष्ट चर्चा पनि सुनियो। तर व्यक्तिविशेषको वित्तीय अवस्थाबारे आधारविहीन बजार हल्लालाई तथ्य मान्न नसकिने भएकाले लगानीकर्ताले यस्तो चर्चाका आधारमा निर्णय लिन नहुने देखिन्छ।

त्यहाँको मुख्य बहस भने आईपीओ नीतिमाथि केन्द्रित भयो। लगानीकर्ताहरूले कमजोर व्यावसायिक आधार, अनिश्चित आम्दानी र अस्पष्ट भविष्य भएका कम्पनीलाई समेत सार्वजनिक निष्कासनको अनुमति दिइँदा दोस्रो बजारमाथि भार थपिएको गुनासो गरे।

‘बजारमा जस्ता कम्पनी आए पनि आईपीओ स्वीकृति दिने हो भने दोस्रो बजार कसरी बलियो हुन्छ?’ एक लगानीकर्ताले प्रश्न गरे, ‘हाइड्रोमै कतिपय कम्पनीको उत्पादन र आम्दानी कमजोर छ। तर सेयर बजारमा आएपछि त्यसको जोखिम सर्वसाधारणले बोक्नुपर्छ।’

अर्का लगानीकर्ताले आईपीओ स्वीकृत गर्दा कम्पनीको नाम र कागजी प्रक्रिया मात्रै नभई व्यवसायको दिगोपन, संस्थागत सुशासन, आम्दानीको सम्भावना र सर्वसाधारणको लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।

‘अब जुनसुकै व्यवसायले आईपीओ ल्याउने चर्चा सुनिन्छ,’ उनले भने, ‘कम्पनी सार्वजनिक हुनु नराम्रो होइन, तर बजारले धान्न सक्ने आपूर्ति र लगानीकर्ताले पाउने गुणस्तर दुवै हेर्नुपर्छ।’

लगानीकर्ताको हात ‘बाइ’मा, विश्वास भने नीतिले रोक्यो

तीनवटै ब्रोकर हाउसको दृश्यले एउटा स्पष्ट सन्देश दिएको छ -लगानीकर्ता बजारबाट भागेका छैनन्। उनीहरू अवसर खोजिरहेका छन्, कम्पनी छानिरहेका छन् र मूल्य घटेको बेला सेयर खरिद गर्ने तयारीमा छन्। तर उनीहरू ठूलो रकमसहित आक्रामक खरिदमा उत्रनुअघि नीतिगत स्पष्टता र बजारको दिशाप्रति थप विश्वास चाहन्छन्।

हाइड्रोपावरमा आकर्षण छ, तर सम्भावित आपूर्तिको डर पनि छ। बैंकिङ समूहप्रति भरोसा छ, तर त्यसले निर्णायक गति लिन सकेको छैन। ‘लो क्याप’ कम्पनीमा चासो छ, तर तीव्र उतारचढावको जोखिम पनि उत्तिकै छ। आईपीओप्रति सर्वसाधारणको आकर्षण कायम छ, तर कमजोर कम्पनीको प्रवेशले समग्र बजारको गुणस्तर बिगार्ने चिन्ता बढेको छ।

त्यसमाथि बढेको पूँजीगत लाभकरले छोटो अवधिमा कारोबार गर्ने लगानीकर्ताको नाफा खुम्च्याएको अनुभूति गराएको छ। यसको मनोवैज्ञानिक प्रभाव बजारको कारोबार रकम र सक्रियतामा देखिन थालेको उनीहरूको भनाइ छ।

समग्रमा सोमबारको ‘ग्राउण्ड जिरो’मा लगानीकर्ताको मनोविज्ञान न पूर्ण रूपमा बुलिस देखियो, न त निराशाले बजार छाड्ने अवस्थामा। उनीहरू पर्ख र हेरको रणनीतिमा छन्-एउटा हात खरिद बटनमा छ, अर्को हात नीतिनिर्माताको निर्णयतर्फ।

बजारमा पैसा आउन तयार छ। प्रश्न यति मात्र हो-सरकार र नियामकले त्यो पैसा बजारमा प्रवेश गर्ने विश्वासको ढोका खोल्छन् कि कर, कमजोर आईपीओ र अनियन्त्रित आपूर्तिको बोझले अझै रोकिराख्छन् ?

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.