काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीद्वारा अनिश्चितकालीन रूपमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार आज बिहान १२ बजेर १५ मिनेटदेखि कर्फ्यु आदेश पूर्ण रूपमा हटाइएको हो।
यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाउँदै साउन ११ गते राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।
केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जारी गरिएको उक्त कर्फ्यु इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेज पुलसम्म तथा उत्तर–दक्षिणतर्फ राजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्रभित्र लागू गरिएको थियो।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले हस्तक्षेप गर्ने क्रममा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
हाल सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले कर्फ्यु हटाएको जनाएको छ।

