काठमाण्डौ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाण्डौमा आवेदन बुझाउनुपर्नेछ। आवेदनसँगै गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सूचनाअनुसार अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सम्बन्धित विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको शैक्षिक योग्यता हासिल गरी पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव र त्यसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
त्यस्तै, आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबारलगायत नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नरहेको तथा अन्य कानुनी अयोग्यता नभएको हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदनसँग आवश्यक कागजात, स्वघोषणा फाराम, दुई प्रति पासपोर्ट साइजका फोटो तथा तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ। साथै दरखास्त दस्तुरबापत ५ हजार राजस्व खातामा जम्मा गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्नेछ।
सीईओको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने जनाइएको छ।
आवेदन प्रक्रिया, आवश्यक कागजात तथा छनोटसम्बन्धी विस्तृत जानकारी अर्थ मन्त्रालय र नेप्सेको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

