काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडप र प्रहरीको गोलीबाट एक युवकको मृत्यु भएको घटनाको विरोध काठमाडौंसम्म फैलिएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै मंगलबार हिन्दुवादी समूहले माइतीघरमा प्लेकार्डसहित प्रदर्शन तथा नाराबाजी गरेका हुन्।
प्रदर्शनका क्रममा केही सहभागीले मुस्लिम समुदायलाई लक्षित गरी चर्को नाराबाजीसमेत गरेका थिए। साम्प्रदायिक रूपमा संवेदनशील घटनापछि आयोजित प्रदर्शनमा समुदाय विशेषविरुद्ध नाराबाजी हुँदा सामाजिक सद्भाव बिग्रन सक्ने चिन्ता बढेको छ।
साउन १० गते राति कप्तानगञ्जमा बोलबम यात्राका क्रममा चर्को आवाजमा डिजे बजाएको विषयबाट सुरु भएको विवाद दुई समुदायबीचको झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा सर्वसाधारण तथा सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
घटनापछि सुनसरी, मोरङ, सिरहालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन्। प्रदर्शनकारीले गोली चलाउने सुरक्षाकर्मीमाथि कारबाही, घटनाको स्वतन्त्र छानबिन र पीडित परिवारलाई न्याय दिन माग गर्दै आएका छन्।
कप्तानगञ्ज घटनाले साम्प्रदायिक तनावको जोखिम बढाएका बेला राजनीतिक तथा सामाजिक पक्षबाट संयमित अभिव्यक्ति, तथ्यमा आधारित अनुसन्धान र समुदायबीच सद्भाव कायम राख्ने पहल आवश्यक देखिएको छ।

