काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–२१ मा बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।
सीआईबीका अनुसार मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचलबाट पक्राउ गरिएको हो। हाकिमलाई साउन ११ गते वीरगन्ज महानगरपालिका–८ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत साउन ८ गते त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो।
प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएपछि सीआईबीले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो।
पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रश्नपत्र चुहावटमा अरू व्यक्ति वा संगठित समूहको समेत संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

