काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा दर्ता भएका ९२ वटा ब्रोकरमध्ये ५ वटा नयाँ ब्रोकरले नेप्सेको पत्रलाई लत्याईदिएका छन् । नेपाल स्टक एक्सचेञ्जले वैशाख १५ गते सबै ब्रोकरहरुलाई एक साताको समयावधि दिएर हरेक ब्रोकरबाट २ जना आईटी कर्मचारीको नाम पठाउन निर्देशन दिएको थियो ।
जसमा ८७ वटा ब्रोकरहरुले आफ्ना आईटी अफिसरको नाम पठाएको नेप्सेका प्रवक्ता मुराहरी पराजूलीले जानकारी दिए । उनका अनुसार हाल नेप्सेलाई ५ वटा बाहेक सबै ब्रोकरहरुले आफ्ना आईटी अफिसरको नाम पठाएका छन् । पराजूलीका अनुसार केही ब्रोकरहरुले आउट सोर्सिङ गरेका पनि हुन सक्छन् । ती अफिसरको नाम के कसरी पठाइएको छ भन्ने विषय नेप्सेले अध्ययन गरिरहेको प्रवक्ता पराजुलीले बताए ।
उनका अनुसार टीएमएसलाई प्रभावकारी बनाउन नेप्सेले आईटीलाई चुस्त दुरुस्त बनाउन खोजेको छ । अहिले बजार सामान्य अवस्थामा रहेता पनि बजारमा चमक आएको बेला टीएमएसले काम नगर्ने समस्या देखिएको छ । टीएमएस नचलेर समस्या आएपछि लामो समयदेखि नेप्सेले ब्रोकरहरुलाई र ब्रोकरहरुले नेप्सेलाई दोषारोपण गर्दै आएका छन् ।
त्यही कारण अब टीएमएसमा कुनै समस्या आई नपरोस र समस्या आए पनि ब्रोकरहरुले नै समस्या समाधान गर्न सकुन् भन्ने अभिप्रायसले नेप्सेले आईटी अफिसरको विषयमा सोधखोज गरेको पराजुलीले प्रतिक्रिया दिए । उनले भने, ‘यसो गरेर हामीले ब्रोकरहरुलाई कुनै असजिलो पार्न खोजेका होइनौ । अहिले भएको ब्यबस्थालाई नै कार्यन्वयन गर्न तर्फ नेप्से लागेको हो ।’
यी हुन् आइटी अफिसरको नाम समयमा नै नपठाउने ५ ब्रोकर ः
१. इन्फिनिटि सेक्यूरिटिज लिमिटेड (स्टक ब्रोकर नम्बर ७०)
२. ब्लुचिप सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ८८)
३. जेबीएनएल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ८९)
४. बेनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ९३)
५. आरबीबी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ९७)