काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गभर्नर नियुक्तिका लागि भन्दै दिएको अन्तिम भनिएको मिति बिहीबार(भोलि) हो ।
विगतमा पटक पटक गभर्नर नियुक्तिको मिति सार्दै र अनेक बाहानाबाजी गर्दै देउवालाई फनफनी घुमाइरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकबाट समेत गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउने छाँटकाट देखिएको छैन । जसका कारण कांग्रेस सरकार छाड्नेसम्मको तयारीतर्फ अगाडि बढेको सन्देश दिन खोजिरहेको छ भने एकअर्कालाई गलाएर नेपाल राष्ट्रबैंकको १८ औं गभर्नरमा कुन दलले आफ्नो मान्छेलाई पठाउने भन्ने खेल चाहिँ अन्तिमसम्म पनि चल्ने नै देखिन्छ ।
केही दिनअघि एक सार्वजनिक समारोहमै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रम ओलीका कारण आफ्नो पार्टीले सिफारिस गरेका व्यक्तिलाई गभर्नर नियुक्तिमा ढिलाई नभएको, बरु राष्ट्रबैंकभित्रकै समस्याका कारण प्रक्रिया लम्बिएको बताएका थिए । उनले ओलीले आफूलाई बिहीबारको मन्त्रिपरिषद बैठकबाट कांग्रेसले सिफारिस गरेका व्यक्तिलाई गभर्नर बनाउने वचन दिएका समेत पटक–पटक बताइसकेका छन् ।
तर, देउवालाई बिहीबारको समय दिएर थमथम्याएका ओलीले भने माओवादी र अन्य दलसँग आफ्ना प्रतिनिधिहरु खटाएर बाक्ला छलफल चलाएका छन् । भित्री रुपमा कांग्रेसलाई गभर्नर दिनुभन्दा अहिलेको गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण निर्माणतर्फ ओली भित्र–भित्रै सक्रिय रहेको सूचना कांग्रेसका शीर्ष नेताहरुसम्म पुगिसकेको छ । यहीकारण बिहीबार समेत कांगे्रसले ओलीबाट पाएको वचन पूरा हुने सम्भावना निकै कम छ ।
भोलि(बिहीबार) गभर्नरको नियुक्ति हुन्छ या हुँदैन भन्ने कुराको निक्र्यौल गर्न सिफारिस समितिले के गरिरहेको छ भन्ने विषय हेरे पुग्छ । सिफारिस समितिका एक सदस्यका अनुसार अर्थमन्त्रीले गभर्नरका सम्भावित ३ उम्मेद्वारहरुको नाम सिफारिस गर्ने गरी समितिको बैठक नै बोलाएका छैनन् । ‘यदि बाहिर आएजस्तो बिहीबार नै गभर्नर नियुक्त गरिन्थ्यो भने त सिफारिस समितिको बैठक आज बस्नु पथ्र्यो । ढिलै हुँदा पनि भोलिका लागि बैठकको खबर आइपुग्नुपथ्र्यो ।’ सिफारिस समितिका एक सदस्यले बिजशालासँग भने–‘तपाईसँग कुरा हुँदासम्म कुनै बैठक पनि भएको छैन र भोलि बस्ने हो भनेर खबर पनि आएको छैन ।’
सिफारिस समितिको बैठक नै नबसेको अवस्थामा सरकारले आफ्नै तजबिजले गभर्नर नियुक्त गर्न मिल्दैन । कर्मकाण्ड नै सही, सिफारिस समितिले नामहरु सिफारिस गरेपछि त्यसकै आधारमा मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्तिको निर्णय गर्ने हो, जुन यो समाचार तयार पार्दासम्म हुने सम्भावना क्षीण देखिन्छ ।
कांग्रेसको धम्की
यो वा त्यो बाहानामा प्रम ओलीले गभर्नर नियुक्तिलाई अझ पर सार्न खोजेपछि पछिल्लो समय भने कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य शीर्षस्थ नेताहरु समेत सचेतजस्तो देखिएका छन् । भोलि(बिहीबार) पनि गभर्नर नियुक्त नभए गठबन्धनको भविष्य के हुने र कांगे्रसको आगामी कदम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले शुक्रबार बिहान पार्टीका पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पदाधिकारी बैठक डाकिएको पुष्टि गरेका छन् । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, गभर्नर नियुक्ति, सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने पौडेलले जानकारी गराएका छन् ।
ओलीः भन्ने एउटा, गर्ने अर्कै !
ओली र देउवाबीच गभर्नरको रुपमा कांग्रेसको सिफारिसमा डा. गुणाकर भट्टलाई नियुक्ति दिने सहमति भएको थियो । तर, गुणाकर भट्टको नियुक्तिमा कानूनी अड्चन आउने भन्दै यो वा त्यो नाममा प्रम ओलीले हलो अड्काउने काम गरिरहेका छन् ।
ओली अन्तिम समयसम्म पनि कांग्रेसलाई गलाउने र कामू गभर्नर निलम ढुंगानालाई गभर्नर बनाइछाडन्े रणनीतिमा छन् । ओलीको यही रणनीतिका कारण ढुंगानाले डा. भट्टको राजीनामा लामो समयसम्म स्वीकृत गरेकी छैनन् । एमालेले अर्थमन्त्रीले राजीनामा स्वीकृत गर्न कामू गभर्नरलाई निर्देशन दिएको भन्दै मिडियाबाजी गरे पनि वास्तविकता त्यस्तो छैन । ओली र अर्थमन्त्री विष्णु पौडेलकै निर्देशनमा ढुंगानाले डा. भट्टलाई रोकिरहेकी छिन् वा गभर्नर नियुक्तिको हलो अड्काइरहेकी छिन् ।
यसरी देउवासँग कुरा गर्दा ओलीले राष्ट्रबैंकका कारण नियुक्तिमा समस्या भएको बताउने गरेका छन् भने कामू गभर्नरलाई भने भट्टको राजीनामा स्वीकृत नगर्न आफैंले निर्देशन दिने गरेका आरोपहरु लाग्ने गरेका छन् । ओलीको द्वैध चरित्रकै कारण कांग्रेस–एमाले सत्ता गठबन्धन जुनसुकै बेला ढल्नसक्ने जोखिम समेत देखिएको उच्च राजनीतिक स्रोतहरु बताउँछन् । यदि बिहीबार ओलीले गभर्नर नियुक्तिको निर्णय गरेनन् र त्यसमा कांग्रेसको सिफारिसलाई स्वीकार गरेनन् भने गठबन्धन सरकार ढल्ने भविष्यवाणीहरु समेत हुन थालेका छन् ।