आईतवार, श्रावण ११,२०८२ 07:34:35
  • आईतवार, श्रावण ११,२०८२ 07:34:35
Global IME Bank Limited

हाईड्रोले धमाधम हकप्रदको अनुमति पाउँदा चार बीमकको फाइल पेन्डिङमा, के कारणले रोकियो प्रक्रिया ?

Hyundai Nepal
हाईड्रोले धमाधम हकप्रदको अनुमति पाउँदा चार बीमकको फाइल पेन्डिङमा, के कारणले रोकियो प्रक्रिया ?
Shivam Cement

काठमाण्डौ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरेपछि एक दर्जन बीमा कम्पनीले हकप्रदको बाटो रोजे । प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको हकमा साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।  

सोहीबमोजिम केही कम्पनीले बोनस सेयरमार्फत तोकिएको पूँजी पुर्याएका छन् भने केहीले हकप्रद निष्कासनको बाटो रोजेका छन् । तर अधिकांश बीमकको पूँजी तोकेबमोजिम पुगिसकेको छ ।  

प्राधिकरणले पूँजी बढाउन निर्देशन दिएसँगै १० बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको बाटो रोजेका थिए । जसमा ४ जीवन बीमक र ६ निर्जीवन बीमक रहेका छन् ।  

हकप्रदमार्फत पूँजी बढाउन लागेका बीमकहरुमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल), एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेनस र सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गरिसकेका छन् भने एशियन लाइफ र नेपाल इन्स्योरेन्सले हाल हकप्रद जारी गरिरहेका छन् ।  

Muktinath Bikas Bank Limited

यसरी ६ बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गरी तोकेको पूँजी जुटाएका छन् । तर लामो समयदेखि हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति मागेका ४ बीमा कम्पनी भने अझै बोर्डको पाइपलाइनमा छन् । उक्त कम्पनीहरुले चुक्तापूँजी वृद्धि गर्नकै लागि हकप्रद निष्कासनको बाटो रोजेपनि हालसम्म बोर्डको स्वीकृति पाउन सकेका छैनन् ।  

पाइपलाइनमा रहेका बीमा कम्पनीहरुमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र यु्नाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । उक्त कम्पनीहरुको हकप्रद निष्कासनको प्रक्रिया अझै पेन्डिङमा छ । लामो समयदेखि बोर्डसँग अनुमति मागेपनि यी चार कम्पनीको अनुमति स्वीकृति हुन सकेको छैन ।  

धितोपत्र बोर्डले पछिल्लो समय हकप्रद निष्कासनको लागि अनुमति माग्ने कम्पनीहरुमा हाइड्रो समूहका कम्पनीलाई धमाधम स्वीकृति दिन थालेको छ । तर गत वर्ष असोज ७ गतेदेखि हकप्रद निष्कासनको लागि अनुमति मागेका बीमा कम्पनीहरुले स्वीकृति पाउन नसक्दा लगानीकर्ताहरुले प्रश्न उठाइरहेका छन् ।  

धितोपत्र बोर्डका सह–प्रवक्ता तोला कान्त न्यौपानेले बीमा कम्पनीकै ढिलाईका कारण स्वीकृत हुन नसकेको बताए । भनेको समयमा उक्त बीमा कम्पनीले थप कागजात पेश गर्न नसक्दा फाइल अड्किएर पेन्डिङमै बसेको उनले प्रष्ट पारे ।  

‘अहिले हकप्रद सेयर निष्कासनको अनुमति माग्ने कम्पनीमा चार बीमा कम्पनी पाइपलाइनमा छन्, यसअघि हामीले समयमै कागजात बुझाउने ६ बीमा कम्पनीलाई स्वीकृति दिइसकेका छौं’ उनले भने, ‘ती कम्पनीहरुले डकुमेन्ट नबुझाउँदा लामो समयसम्म बोर्डको पाइपलाइनमा बस्न बाध्य भएका छन्, यसमा कम्पनीहरु स्वयंको ढिलाई छ ।’

बीमा कम्पनीहरु आफैंले ढिला गर्दा हकप्रद निष्कासनको प्रक्रिया लम्बिन पुगेको न्यौपानेको भनाई छ । ‘बोर्डबाट कुनै पनि कम्पनीको फाइल रोकिएको छैन, कम्पनीहरु आफैंले मागेको कागजात पेश गर्न ढिला गर्नुहुन्छ, अनि प्रक्रिया लम्बिन्छ’ उनले भने, ‘कम्पनीहरुले जति सक्दो हामीले भनेको डकुमेन्ट बुझाउनुहुन्छ हामी हेरेर स्वीकृति दिन्छौं तर बोर्डबाट प्रक्रिया पुरा गरेका कम्पनीलाई धितोपत्र निष्कासनमा रोकेको छैन ।’  

चार बीमकको हकप्रद प्रक्रिया के कारणले रोकियो ?  

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी छन् । प्रभु महालक्ष्मी लाइफले गत वर्षको असोज ७ गते बोर्डमा निवेदन दिएको थियो । त्यस्तै, सानिमा जिआइसीले गत वर्ष कात्तिक ३० गते, प्रभु इन्स्योरेन्सले कात्तिक १२ गते र युनाइटेड अजोडले फागुन ४ गते बोर्डमा निवेदन दिएको थियो ।  

यी कम्पनीहरु भन्दा पछि बोर्डमा निवेदन दिएका कम्पनीहरुले स्वीकृति पाएर हकप्रद समेत निष्कासन गरिसकेका छन् । तर उक्त चार कम्पनीले अझै अनुमति पाउन सकेका छैनन् ।  

बोर्डका सह–प्रवक्ता न्यौपानेले कम्पनीहरु आफैं ढिला गर्दा प्रक्रिया लम्बिन पुगेको बताए । ‘अहिले सबैभन्दा प्रक्रिया लम्बिन पुगेको भनेको प्रभु महालक्ष्मी लाइफको हो, उक्त कम्पनीले हकप्रदको अनु्पात १ः०.०७ मा परिवर्तन गरेको भनि पत्र पठाएको थियो, हामीले पुनः सम्बन्धित कागजात बुझाउन रिप्लाई पठाएका थियौं त्यसपछि कम्पनीले कुनै पनि प्रतिक्रिया पठाएको छैन’ उनले भने, ‘त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सले असार ३० गतेमात्रै २५ यसअघिको हकप्रद अनुपात १ः०.२५ लाई परिवर्तन गरेर १ः०.७० मा परिवर्तन गरेर पुनः निवेदन पेश गरेको छ, तर हामीले बाँकी डकुमेन्ट पनि पेश गर्न भनेका छौं, हालसम्म कम्पनीबाट अन्य डकुमेन्ट पेश भएको छैन ।  

यसका साथै यता युनाइटेड अजोड र प्रभु इन्स्योरेन्सको हकप्रद प्रक्रिया भने अन्तिम चरणमा पुगेको न्यौपानेले बताए । ‘प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद स्वीकृतिको लागि प्रक्रिया अन्तिम चरणमा छ’ उनले भने, ‘बोर्डबाट प्रभु इन्स्योरेन्सलाई गत जेठ ५ गते र युनाइटेड अजोडलाई जेठ ८ गते थप कागजात पेश गर्न भनेका छौं, कम्पनीहरुले अब उक्त कागजात पेश गरेपछि हामीले हेरेर उक्त कम्पनीहरुलाई स्वीकृति दिन सक्नेछौं ।’

कुनको कति कित्ता ?  

चुक्तापूँजी बढाउने प्रयोजनकै लागि हकप्रद निष्कासनको बाटो रोजेका बीमा कम्पनीहरुमा अब चार कम्पनीको हकप्रद निष्कासन हुन बाँकी छ ।  

सानिमा जिआइसी इन्स्योरेन्सले कायम चुक्तापूँजीको ७० प्रतिशत अर्थात् १ः०.७०  अनुपातमा ३६ करोड ५५ लाख रुपैयाँ बराबरको ३६ लाख ५५ हजार कित्ता हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि १ः०.७० अनुपातमा ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  

यसका साथै यता प्रभु इन्स्योरेन्सले १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता र युनाइटेड अजोडले १ः०.१५ अनुपातमा ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१  लाख ५० हजार कित्ता हकप्रद निष्कासनको लागि अनुमति मागेका छन् ।  

प्रभु इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल र युनाइटेड अजोडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.