काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि यही साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसर्थ बुक क्लोज हुनु एक दिनअघि अर्थात साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्कासन गर्न साउन ९ गते अनुमति प्राप्त गरेको थियो । कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।