काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा यही भदौ २५ गते काठमाण्डौको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
यसैगरी आव २०८२/८३ को बाह्य लेखापरीक्षण कार्यका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पा्िरश्रमिक निर्धारण गर्ने, समूह(क) सेयरधनीहरुका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।