काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै पुँजी रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयरबजारमा मात्रै पौने ११ अर्ब रुपैयाँ लगानी रहेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले गत आवको अन्त्यसम्म सेयरबजारमा १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ लगानी गरेको हो । यो लगानी रकम अघिल्लो आवको तुलनामा ९१.७१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको सेयरबजारमा ५ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।
गत आवमा हिमालयन लाइफले विभिन्न क्षेत्रमा कुल ७९ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको सेयरबजारमा गरिएको लगानी रकम कुल लगानी रकमको १३.७२ प्रतिशत रकम हो ।
कम्पनीले मुद्दती निक्षेपपछि धेरै सेयरबजारमा नै लगानी गरेको देखिएको छ । गत आवमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा मात्रै ५० अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा जारी बीमकको लगानी निर्देशिका बमोजिम जीवन बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।
साथै, प्राधिकरणले बीमकको लगानीलाई थप खुकुलो बनाउँदै सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाइदिएको छ । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । जस्तै, कुनै एक बैंकको चुक्तापूँजी एक अर्ब रुपैयाँ छ भने बीमा कम्पनीहरुले उक्त बैंकको सेयरमा १५ करोड रुपैयाँसम्म लगानी गर्न पाउनेछन् ।
हिमालयन लाइफले कुल लगानी रकमको १३ प्रतिशत रकम सेयरबजारमा लगानी गरेको देखिएको हो । अन्य कम्पनीहरु बढी मुद्दती निक्षेपतिरै केन्द्रित हुँदा हिमालयन लाइफले भने जोखिम लिएरै सेयरबजारमा पनि लगानी बढाएको हो ।
कम्पनीको अघिल्लो आवको वार्षिक प्रतिवेदनबमोजिम कम्पनीले सर्वाधिक नेपाल रि इन्स्योरेन्सको सेयरमा लगानी गरेको देखिएको हो । स्रोतका अनुसार गत आवमा पनि यो कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी उल्लेख्य बढाएको छ ।
अघिल्लो आवमा मात्रै यो कम्पनीले नेपाल पुुनर्बीमा कम्पनीको सेयरमा ६७ करोड १४ लाख रुपैयाँ लगानी गरेकोमा कम्पनीको कस्ट ६९ करोड २३ लाख रुपैयाँ रहेको थियो । बजारमा हिमालयन लाइफले नेपाल रि इन्स्योरेन्सको सेयर किनेको हल्ला छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले नेपाल रि को सेयरमा लगानी उल्लेख्य बढाएको बुझिन्छ ।