काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा असोज १० गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिक सेयरधनीहरुलाई चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने, प्रतिसेयर रु.१०० का दरले ३ अर्ब रुपैयाँबराबरको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र बैंकको अधिकृत पूँजी १५ अर्बलाई वृद्धि गरी २० अर्ब पुर्याउने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको २७ औ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र बैंकको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छे सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरु सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले साविक सञ्चालकहरुको बाँकी कार्यकालसम्मको लागि गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।